उमेश साह
बोदे बरसाईन, १३ माघ । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ जाँजरस्थित हुलाकी सडक खण्डमा सोमवार दिउँसो टिपर अनियन्त्रित भएर दुर्घटना भएको छ । दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय दिपेन्द्र यादव घाइते भएका छन् ।
घाइते यादवको बोदे बरसाईनस्थित जीवन दिप हस्पिटलमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणकालागि माटो ढुवानी गरिरहेको ना १ क ८३०७ नम्वरको टिपर अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किएपछि दुर्घटना भएको हो ।

पोल भाँचिने क्रममा सडक भएर घरतर्फ गईरहेको यादवलाई विद्युतीय तारले गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
टिपरले पोलमा ठक्कर दिँदा तीन वटा पोल सडकमै लडेको छ भने हुलाकी सडकमा यातायात समेत ठप्प भएको छ । सडक सुचारु गर्न जनप्रतिनिधि, प्रहरी र स्थानीयवासिन्दाले प्रयास थालेका छन् । टिपर र चालक अरुण चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बोदे बरसाईनले जनाएको छ ।