• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चार विधेयकः नेता प्याकुरेल

पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चार विधेयकः नेता प्याकुरेल

राजविराज, २६ पुस । नेकपाका नेता एवम् राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले पत्रकारितालाई थप मर्यादित बनाउन सरकारले सञ्चार विधेयक ल्याउन लागेको दावी गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शनिवार राजविराजमा आयोजित लोकेन्द्र बुढाथोकीको स्मृति दिवस एवम् लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा २०४६ सालको राजनीतिक परिवर्तन पश्चात पत्रकारिता फस्टाएको चर्चा गर्दै उनले भने ‘पत्रकारिताको नाममा अश्लिलता एवम् चरित्रहत्या गर्ने प्रवृति व्यापक हुँदैगएको छ, त्यसैले पत्रकारितालाई थप मर्यादित एवम् व्यवस्थित गर्नकालागि सरकारले सञ्चार विधेयक ल्याएको हो, मर्यादित पत्रकारिता गर्नेहरुलाई यसले कुनै फरक पर्दैन ।’
वर्तमान सरकारले देशलाई सही दिशामा ल्याउन खोजेको दावी गर्दै प्रमुख अतिथि प्याकुरेलले जताततै परिवर्तनहरु देखिएकोले त्यस विषयमा समेत पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । ‘पत्रकारहरुले सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ’ उनले भने ‘अबको पाँचवर्षभित्रै देशमा आमूल परिवर्तन हुने निश्चित छ ।’ सञ्चार विधेयकमा मर्यादित पत्रकारीता गर्न अपठ्यारो रहेको प्रावधान रहेछन् यदी भने त्यसलाई सच्याएर जान सकिने समेत उनले स्पष्ट पारे ।
आन्दोलनको पृष्ठभुमिबाट आएका दलको नेतृत्वमा बनेको वर्तमान सरकारले पत्रकारलाई अंकुश लगाउने कुरा सोच्न पनि नसकिने भन्दै उनले सरकार मर्यादित पत्रकारीताको पक्षमा रहेको दावी समेत दोहो¥याए । पत्रकारिता क्षेत्रको विकास एवम् दिगोपनाकालागि समेत वर्तमान सरकार प्रतिवद्ध रहेको भन्दै दलगत आस्थाबाट माथि उठेर कलम चलाउन समेत नेता प्याकुरेलले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झाले सञ्चार विधेयकमा मिडियामाथि अंकुश लगाउने कुरा समेत समावेश रहेको भन्दै त्यसलाई सच्याउन माग गरे । जनकपुर उपमहानगरपालिकाका मेयर साहको निर्देशन पत्रकारहरुमाथि भएको कुटपीट एवम् दुव्र्यवहारको निन्दा गर्दै उक्त कार्यमा संलग्नहरुलाई अविलम्ब कार्वाही हुनुपर्नेमा उनले जोड दिए ।
महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर कुमार राम, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, लोकेन्द्र स्मृति पुरस्कार चयन समितिका संयोजक अनिल कुमार अनल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजालका अध्यक्ष सुखराम यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव तथा सञ्चालन महासंघका सचिव जितेन्द्र कुमार झाले गरे ।
सोही अवसरमा सप्तरीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।