राजविराज, २४ पुस । सप्तरीको कोशी व्यारेजलगायतका जलासयहरुमा नुहाएर शुक्रवार पुसी पुर्णिमा भव्यताका साथ मनाईदैछ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लाग्ने गर्दछ । व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको पुर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, रतनपुरालगायतका स्थानहरुबाट कोशी स्नान गर्न आउने गरेको स्थानीयवासिन्दाहरु बताउँछन् । यसवर्ष समेत कोशी व्यारेजमा स्नान गर्न तथा मेला भर्न सर्वसाधारणको उपस्थिति हुन थालेको स्थानीय सञ्चारकर्मी राजु शर्माले जानकारी दिएका छन् ।

बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानकालागि सर्वसाधारण आउने गर्छन् । कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीकालागि महत्वपूर्ण मानिन्छ ।

कृषकहरुकालागि कोसी मेलामा बढी उपस्थिति हुने गर्दछ ।
यस अतिरिक्त सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत मेला लागेको छ । पौष शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास छ ।

यस दिन बिहानै कोशी लगायतका जलासयहरुमा नुहाएर मिठोचोखो खाने चलन रहँदैआएको छ ।