• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लक्ष्मीदेवीको पीडाः पतिबाटै घर निकालादेखि खुकुरी प्रहारसम्म

लक्ष्मीदेवीको पीडाः पतिबाटै घर निकालादेखि खुकुरी प्रहारसम्म

राजविराज, २३ पुस । आफ्नै पतिले गरेको खुकुरी प्रहारबाट सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १२ सिंग्यौनकी एक महिला घाइते भएकी छिन् ।
पारिवारीक विवादका कारण महिनारायण यादवले आफ्नै ३० वर्षीया पत्नी लक्ष्मीदेवी यादवमाथि मङ्गलवार दिउँसो खुकुरी प्रहार गरेका हुन् । पतिको आक्रमणले लक्ष्मीदेवीको घाटीको ३ ठाउँमा काटिएको छ । उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार पश्चात थप उपचारकोलागि विराटनगरस्थित गोल्डेल अस्पतालमा भर्ना गरिएको लक्ष्मीदेवीका पिता अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्वर–४ बनौलीका शिवराम यादवले न्यूज टुडेलाई जानकारी दिए ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले पतिको आक्रमणबाट लक्ष्मीदेवीको घाँटीमा गम्भीर चोट लागेको पुष्टि गर्दै खकुरी प्रहार गर्ने महिनारायण फरार रहेको बताए । उनको खोजी कार्य भइरहेको जनाएको छ । डिएसपी भारतीका अनुसार घटनाको वास्तविकता आउन नसकेपनि उनीहरूबीच पारिरीक विवाद थियो । सो विवाद समाधानका निम्ति लक्ष्मीदेवीले गत पुष २० गते पति महिनारायण विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएकी थिइन् ।
यस्तो छ कारण
पति विरुद्ध प्रहरीमा उजुरी गर्न राजविराज आउँदा लक्ष्मीदेवीले न्यूज टुडेसँग कुराकानी गर्दै न्यायको गुहार गरेकी थिइन् । लक्ष्मीदेवीका अनुसार पति महिनारायणले नै छोराको जन्मदर्तामा अर्कै महिलालाई आमा जनाएर उनलाई घर निकाला गरेको छ ।
पारिवारीक सहमतिमै हिन्दु परम्पराअनुसार २०६६ सालमा महिनारायणसँग उनको विवाह भयो । विवाह गरेको एक वर्षपछि छोरो कृष्णा र २०६९ सालतिर अर्को रोशनको जन्म भयो । परिवारमा दुई बालक थपिएपछि परिवारका सवै खुशी नै थियो । त्यतिवेला प्रहरी सेवामा कार्यरत रहेका महिनारायण पनि दुई छोरा पाएर खुशी नै थियो । पछि इलाममा कार्यरत रहँदा महिनारायणको मुना खातीसँग प्रेम बसेछ । प्रेम सम्वन्धमै रहँदा पति महिनारायणले मुनासँग दोश्रो विवाह गरेपछि लक्ष्मीलाई कुटपिट गर्न थाले ।
पछिल्लो केही समय यता महिनारायणले जागिर छाडेर घर बस्न थालेपछि लक्ष्मीलाई कुटपिट गर्दै घर निकाला गरिदिए । र, लक्ष्मीबाटै जन्मिएका छोरोलाई समेत मुनाकै छोरा जनाएर जन्मदर्ता पनि बनाईसके । लक्ष्मीले छोरोको जन्मदर्तामा आफ्नो नाम हुनुपर्ने ठाउँमा मुनाको नाउँ देखेपछि उनी न्यायको गुहार गर्दै चौतर्फी धाउन थालिन् । सो कुरा महिनारायणले सहन नसकेर आक्रमण गरेको लक्ष्मीका पिता यादवले न्यूज टुडेलाई प्रतिक्रिया दिए ।