• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मल्हनियाँमा स्वास्थ्य चौकी भवन उद्घाटन

मल्हनियाँमा स्वास्थ्य चौकी भवन उद्घाटन

राजविराज, २२ पुस । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्वर १ बडकी टोल मल्हनियाँमा नव निर्मित स्वास्थ्य चौकी भवनको मङ्गलवार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षता तथा उपाध्यक्ष रुबी गुप्ताको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच नव निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । ७ कठ्ठा जग्गामा निर्मित भवनको जग्गादाता ७० वर्षीया गुलावदेवी यादव र गाउँपालकाकी उपाध्यक्ष गुप्ताले संयुक्त रुपमा उद्घाटन गरेकी छिन् ।
उद्घाटन समारोहमा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि दुनियालाल यादव, सम्पूर्ण वडाका वडाअध्यक्ष, स्थानीय नेता तथा वुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।
२०७४ सालमा नेपाल सरकारले छुट्याएको कुल २ करोड ६० लाख ३० हजार रुपैयाँको बजेटमा निर्मित स्वास्थ्य चौकी भवनमा ६ वटा कोठ्ठा, ३ वटा काउण्टर तथा १० वटा शौचालय रहेको छ । हेल्थ असिस्टेन्ट, सी अहेब, अहेब, अनमी तथा कार्यालय सहयोगी गरी ७ जना कर्मचारीको दरबन्दी रहेको सो स्वास्थ्य चौकीबाट २५ औं घण्टा बर्थिङ्ग सेवाकासाथै नेपाल सरकारको नियमअनुसार स्वास्थ्य चौकीबाट प्रदान गरिने सवै सेवाहरु प्रवाह गरिनेछ ।
सर्वसाधारणलाई स्वास्थ्य चौकीसम्म पुग्न सहज पार्नकालागि गाउँपालिका कार्यालयले २० लाख रुपैयाँको लागतमा झण्डै १ सय मिटर दुरीको आरसीसी सडक ढलान कार्य समेत सम्पन्न गरेको जनाएको छ ।