राजविराज २२ पुस । अङ्ग्रेजी माध्यमबाट अध्ययन–अध्यापन हुने सप्तरीको पहिलो निजी विद्यालय ह्याप्पीलैण्ड सेकेन्ड्री स्कुलले आफ्नो ४० औं वार्षिकोत्सव मनाएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको उक्त विद्यालयले उक्त विद्यालय ४० वर्ष पुरा गरी ४१ औं वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलवार विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्यताकासाथ आफ्नो वार्षिकोत्सव मनाएको हो । विद्यालयमा विद्यार्थीहरुले शैक्षिक विज्ञान, प्रविधी, वातावरण, स्वास्थ्य, हस्तकला, चित्रकलासहित विधाहरुमा तयार पारेका सामग्रीहरु प्रदर्शनीमा राखेका थिए । विद्यार्थीहरुले देखाएको प्रतिभाको अभिभावक एवम् वुद्धिजिवीहरु प्रशंसा गरेका छन् ।
यता विद्यालयले फलफुल वितरण, सांस्कृतिक कार्यक्रम, स्मारिका विमोचन, मायाको चिनो वितरण लगायतका कार्यक्रमहरु समेत आयोजना गरेका छन् । विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य एवं अर्थ समितिका सभापति मनिष कुमार सुमनले ह्याप्पील्याण्ड बोर्डिङ्ग स्कूलले शिक्षा क्षेत्रमा अतुलनीय रहेको भन्दै आगामी दिनहरुमा थप सफलताको कामना गरे । जिल्लाकै पहिलो निजी विद्यालयको रुपमा स्थापित भई हज्जारौं दक्ष जनशक्ति तयार गरेर समाजलाई मात्र नभई देशलाई ठूलो योगदान दिएको भन्दै उनले प्रशंसा गरे ।
विद्यालयका संस्थापक पुष्प सिटौलाले विद्यालयमा मर्यादित एवम् शान्तिपूर्ण वातावरण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफुहरु हरसम्भव प्रयासरत रहेको बताए । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई फल्न फुल्न दिई चाहिने वातावरण सृजना गर्न समेत आफुहरु प्रतिवद्ध रहेको उनले जानकारी दिए ।
विद्यालयका प्रिन्सिपल विजयानन्द झाले ह्याप्पील्याण्ड विद्यालयले स्थापनाकालदेखि ४०औं वसन्तसम्मको यात्रा गरिरहँदा विभिन्न आरोह–अवरोह पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको बताए । विद्यालयको शाखलाई कायम राख्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत निरन्तरताकालागि उनले अपेक्षा गरे ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले विभिन्न विधामा आ–आफ्नो प्रतिभा देखाएका छन् ।

