• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘आमा’को प्रमाण जुटाउन लक्ष्मीदेवीद्वारा चौतर्फी गुहार

‘आमा’को प्रमाण जुटाउन लक्ष्मीदेवीद्वारा चौतर्फी गुहार

राजविराज, १० पुस । सप्तरीको राजविराज नगरपालिकाकी एक महिलालाई आफ्नै छोराहरुको वास्तविक आमा हुँ भनेर प्रमाण जुटाउन चौतर्फी न्यायको गुहार गर्नुपर्ने बाध्यता परेको छ ।
वडा नम्वर–१२ सिग्यौन निवासी पति महिनारायण यादवले नै छोराको जन्मदर्तामा अर्कै महिलालाई आमा जनाएर घर निकाला गरेपछि लक्ष्मीदेवी यादवलाई चौतर्फी गुहार गर्नुपर्ने बाध्यता परेको हो । उनी प्रहरीमा उजुरी दिएर आफ्नै दुई छोराको वास्तविक आमा हुँ भन्ने प्रमाण जुटाउन अस्पतालसम्म धाईरहेकी छिन् । ‘पारिवारीक सहमतिमै हिन्दु परम्पराअनुसार २०६६ सालमा महिनारायणसँग विवाह भयो, विवाह गरेको एक वर्षपछि छोरो कृष्णा र २०६९ सालतिर अर्को रोशनको जन्म भयो’ उनले भनिन्–‘आफ्नो परिवारमा दुई बालक थपिएपछि परिवारका सवै खुशी नै थियो ।’
उनकाअनुसार प्रहरी सेवामा कार्यरत पति महिनारायण पनि दुई छोरा पाएर खुशी नै थियो । पछि इलाममा कार्यरत रहँदा महिनारायणको मुना खातीसँग प्रेम बसेछ । प्रेम सम्वन्धमै रहँदा पति महिनारायणले मुनासँग दोश्रो विवाह गरेपछि आफुलाई कुटपिट गर्न थालेको लक्ष्मीदेवीले दुखेसो गरिन् ।
पछिल्लो समयमा जागिर समेत छाडेको र घर बस्न थालेपछि आफुलाई कुटपिट गर्दै घर निकाला गरिदिएपछि आफ्नो विजोग भएको उनले सुनाइन् । ‘घर निकाला मात्रै गरेनन्, आफ्ना छोरोलाई समेत सौताकै छोरा जनाएर जन्मदर्ता बनाईसक्नु भएको छ’ उनले भनिन्–‘यो कुरा थाहा पाएपछि बस्न मुस्किल भयो, आफुले जन्म दिएको छोरोको आमा अरुलाई नै कसरी हुन दिन्छु ।’
घर निकाला भएपछि अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्वर–४ बनौलीस्थित माइतीमै बस्ने बाध्यता परेकोले छोराहरुसँग वस्ने वातावरण सृजना गरिदिनुहुन् लक्ष्मीले सवैमा आग्रह गरेकी छिन् । ‘आफ्नो त संसार नै उजाडियो, एउटा आमा छोराहरु विना कसरी बस्न सक्छ’ उनले भनिन्–‘छोरा र परिवारसँग बस्ने वातावरण सृजना गरिदिनुस् हजुर।’
उता, महिनारायणले लक्ष्मीसँग सम्वन्ध विच्छेद गर्न चाहे पनि लक्ष्मीले नमानेको प्रतिक्रिया दिए । सम्वन्ध विच्छेद गर्न नमानेपछि लक्ष्मीबाटै जन्मिएको छोरोहरुको आमा मुना खाती यादवलाई बनाए, उनले थपे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले लक्ष्मीले दिएको निवेदनमाथि आवश्यक अनुसन्धान भईरहेको न्यूज टुडेलाई प्रतिक्रिया दिए । निवेदन दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको छ, उनले भने ।