राजविराज, ९ पुस । जनप्रतिनिधि र कर्मचारी मिलेर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै युवाहरुद्वारा डाक्नेश्वरी नगरपालिकामा लगाइएको ताला नखुल्दै पुनः सप्तरीको अर्को स्थानीय तहमा तालाबन्दी भएको छ ।
गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ३ जना वडा अध्यक्षकै नेतृत्वमा राजगढ गाउँपालिका कार्यालयमा पनि बुधबार तालाबन्दी भएको हो । गाउँपालिकाबाट भएको अधिकांश गतिविधि नियमविपरीत गरिएको र विकास निर्माणका योजनाहरुमा समेत काखापाखा गरिएपछि ताला लगाइएको वडा नम्वर २ का अध्यक्ष ललितनारायण सिंहले बताए ।
आफुसहित वडा नम्वर ४ का अध्यक्ष हेमनारायण साह र ६ का वडा अध्यक्ष कमलदेव यादवले नेतृत्व गरेर नगरपालिका कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष सिंहले बताए । ‘गाउँपालिकामा पार्टीगत रुपमा पूर्वाग्रह ढंगले योजनाहरुको वाँडफाँड गर्ने गर्छन्’ उनले भने–‘यस विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादव जीलाई पटक पटक लिखित आग्रह गर्दा समेत वास्ता गर्नु भएन् ।’ बाध्यता भएर गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नु परेको उनले बताए ।
आर्थिक वर्ष ०७४÷०७५ तथा ०७५÷०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायत उनीहरुले माग अघि सारेको छ । सो मागसहित उनीहरु गत पुस २ गतेदेखि आन्दोलित छन् । सोही क्रममा उनीहरुले बुझाएको ज्ञापन पत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकको जानकारी समयमा नदिएको, बैठकको निर्णय समयमा सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको लगायत उल्लेख छ ।
यसैगरी विभिन्न चरणमा आय–व्यय विवरण पास गर्नुपर्ने नियम विपरीत आफूखुसी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधी खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्ष लगायतका स्थानीय जनप्रतिनिधि समेतलाई जानकारी नदिई आफूखुसी समिति गठन गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
यसअघि जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै डाक्नेश्वरी नगरपालिकाका युवाहरुले गत मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेको थियो । भ्रष्टाचारको छानवीन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेर युवाहरुले थालेको आन्दोलन पनि जारी रहेको छ ।
राष्ट्रिय
जनप्रतिनिधिहरुद्वारा राजगढ गाउँपालिकामा तालाबन्दी
अधिकांश गतिविधि नियमविपरीत तथा योजनाहरुमा काखापाखा गरेको आरोप