• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

सप्तरीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

राजविराज, ९ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ स्थित विरेन्द्र बजारमा मोटरसाइकल र जिप ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मङ्गलवार मध्य राती स १० प ८२५ नम्वरको मोटरसाइकल र ज १ च १३८१ नम्वरको जिप ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा महादेवा गाउँपालिका वडा नम्वर ६ का २२ वर्षीय मोटरसाइकल चालक राकेश यादव र पछाडि सवार सोही ठाउँका ३२ वर्षीय प्रभाश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनालाई उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको अस्पताल प्रशासनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार बाक्लो हुस्सुको बिचमा पनि तिव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको हो । जिपका चालक उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्वर १ का ललित माझीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
यसअघि पनि मंगलबारै सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा यात्रुबसको ठक्करबाट एक मोटरसाइकल यात्रीको मृत्यु भएको थियो । लहानतर्फ जाँदै गरेको ना २ ख १२६९ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना६ प ९०४५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्वर ३ का ३५ वर्षीय अरुणकुमार शाहको मृत्यु भएको थियो भने मोटरसाइकलमा पछाडि सवार १७ वर्षीया कल्पना शाह घाइते भएकी छिन् ।