जनकपुरधाम, ८ पुस । प्रदेश २ को सञ्चार क्षेत्रलाई प्रवद्र्धन गर्न प्रेस नेपालले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
जनकपुरमा सम्पन्न भएको दुई दिवसीय प्रदेश पदाधिकारी बैठकले आठवटै जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुको विकासमा प्रदेश सरकारलाई योजना ल्याउन माग गरेको हो । प्रेस नेपाल प्रदेश कार्यसमितिका पदाधिकारी तथा जिल्ला अध्यक्षहरु सम्मिलित बैठकले प्रदेशका विभिन्न जिल्लामा सक्रिय सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि प्रदेशका पदाधिकारी तथा जिल्ला अध्यक्षहरुले मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।
बैठकले संघीय प्रेस फोरम तथा प्रेस सोसाइटीबीच एकता घोषणा गर्न फोरमको तर्फबाट तीन सदस्यीय तयारी समिति पनि गठन गरेको छ । फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादवको संयोजकत्वमा गठित समितिमा उपाध्यक्ष सुरेश यादव र सहसचिव अभरेन्द्र यादवलाई सदस्य चयन गरिएको छ । पुस मसान्तभित्र प्रदेश तथा माघ मसान्तभित्र आठवटै जिल्लाको समायोजन प्रक्रिया सम्पन्न गर्न बैठकले निर्णय गरेको हो ।
बैठकमा सहभागी हुन जनकपुरमा भेला भएका संघीय प्रेस फोरममा आवद्ध सञ्चारकर्मी तथा समाजवादी पार्टीका नेताहरुबीच अन्तरक्रियात्मक छलफल आयोजना भएको थियो । पार्टीका प्रदेश अध्यक्ष विजयकुमार यादव, उपाध्यक्ष उर्मिला साह, सचिव तथा प्रचारप्रसार विभागका प्रमुख दिनेश यादव, कोषाध्यक्ष रेणु यादवका साथै प्रेस नेपालका केन्द्रिय उपाध्यक्ष अतिश मिश्र, सदस्य बख्तियार अली, फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव, उपाध्यक्ष सुरेश यादव, सहसचिव अभरेन्द्र यादव, धनुषा अध्यक्ष अर्जुन मण्डल, महोत्तरी अध्यक्ष नागेन्द्र यादव, सप्तरीका कार्यवाहक अध्यक्ष वृजमान तामाङ, सर्लाहीका मनोज यादव र सिरहाका जितेन्द्र सिंह दनुवार सहभागी थिए ।
उक्त अवसरमा संघीय प्रेस फोरमका पदाधिकारी तथा जिल्ला अध्यक्षहरुले मिडिया तथा मिडियाकर्मीहरुको हकहितमा काम गर्न मुख्य मन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलगायत सरोकारवाला निकायसंग पनि छुट्टाछुट्टै भेटगरी छलफल गरेका थिए ।