राजविराज, ८ पुस । नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला समन्वय समिति सप्तरीका पदाधिकारीहरुको पदभार ग्रहण मङ्गलवार एक समारोहका बीच गरिएको छ ।
राजविराजमा आयोजित समारोहका बीच समन्वय समितिका संयोजक प्रभाकर यादव लगायतका पदाधिकारी एवम् सल्लाहकारहरुको पदस्थापन गराईएको हो । नेपाल भ्रमण वर्ष २०२० महाअभियानका प्रदेश सदस्य अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्लामा पर्यटकीय सम्भावना बोकेका स्थलहरु रहेकोले त्यसको समुचित प्रचार–प्रसार हुनुपर्नेमा जोड दिए । जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न स्थानीय स्तरबाट समेत प्रयास गरी पर्यटकीय गन्तव्यहरुसम्म पुग्न यातायातका साधनहरु सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० महाअभियानका प्रदेश सदस्य राकेश गुप्ताले सप्तरी जिल्लामा रहेका पर्यटकीय स्थलहरुको विषयमा सूचीकृत गरी त्यसलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । समितिका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष शिवहरि प्रसाद भट्टराईले छिन्नमस्ता, कंकालिनी लगायतका स्थलहरु चर्चामा रहे पनि हनुमाननगरको कालो हनुमान, शम्भुनाथ, विष्णु मन्दिर, चन्द्रभोगा, कृष्णाराम मरौटी, कनकपट्टी दरबार, शनिधाम, मानराजा गढी लगायतका धार्मिक पर्यटकीय स्थलहरुको विषयमा थप प्रचार–प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने सुझाव दिए । राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, राजविराज नगरपालिका पूर्व मेयर शैलेश कुमार चौधरी, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, समितिका सल्लाहकार एवम् वुद्धिजिवी विजयानन्द झा, ई. इन्द्रनारायण देव लगायतले पर्यटन वर्षबारे मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख समेत रहेका समितिका संयोजक प्रभाकर यादवले जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनकालागि आफुले विभिन्न कार्यक्रमहरु आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे । पदस्थापन पश्चात बसेको समितिको बैठकले आगामी पुस ११ गते जनकपुरमा आयोजना हुन लागेको पर्यटन वर्ष सम्वन्धी प्रदेशस्तरीय कार्यक्रममा कार्यसमिति तथा सल्लाहकार समितिले सहभागिता जनाउने निर्णय गरेको छ ।