राजविराज, ७ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा तालाबन्दी भएको आठ दिन बितिसक्दा पनि तालाबन्दी कायमै रहेको भन्दै समस्या समाधान गर्न यूवाहरुले प्रमुख जिल्ला अधिकारीलाई सोमवार ज्ञापन–पत्र बुझाएका छन् ।
डाक्नेश्वरी यूवा संघर्ष समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंलाई ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिकामा भएको भ्रष्टाचार विरुद्ध यूवाहरुले तालाबन्दी गर्दै विरोधका कार्यक्रमहरु गर्दैआएका छन् । नगरपालिकाले आफुहरुलाई औपचारिक रुपमा आफुहरुको मागबारे छलफल गर्न वार्तामा नबोलाएको भन्दै उक्त विषयमा समाधानकालागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी प्रसाईंसँग आग्रह गरेका छन् ।
नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस बीचमा किनिएका सामानहरुको विवरण तथा बिल समेत सार्वजनिक गर्न माग राख्दै नगरपालिकामा १० दिन अघि दिएको निवेदन उपर कुनै सुनुवाई नभएपछि उनीहरुहरुले मंसिर २९ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । नगरपालिकामा व्यापक आर्थिक अनियमितता हुनाका साथै कर्मचारी समेत समयमा नआएका कारण सेवाग्राहीले हैरानी भोगिरहेको संघर्ष समितिको आरोप छ ।
आर्थिक पारदर्शिताकालागि आर्थिक वर्ष २०७५÷०७६ को महालेखापरीक्षकको प्रतिवेदन उपलब्ध गराउन तथा नगरपालिकाको जिन्सी मालसामानको विवरण तथा खरिद प्रक्रियाबारे जानकारी दिन, वडा कार्यालयहरुलाई उपलब्ध गराएको मोटरसाइकल खरिद प्रक्रियाको विवरण उपलब्ध गराउन सूचनाको हक प्रयोग गरी निवेदन दिँदा समेत कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ ।