• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज जेसीजको पहिलो महिला अध्यक्ष नानीमैया

राजविराज जेसीजको पहिलो महिला अध्यक्ष नानीमैया

सप्तरी, ७ पुस । राजविराज जेसीजको साधारणसभाले सन् २०२० कोलागि नानीमैया कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने निर्णय भएको छ ।
राजविराज जेसीज भवनमा आयोजित ४४औं वार्षिक साधारण सभाले कटवालको नेतृत्वमा २०२० का लागि नयाँ कार्यसमिति सर्वसम्मतले चयन गर्ने निर्णय गरेको हो । केही महत्वपूर्ण पदमा अध्यक्षले पदस्थापन समारोहमा मनोनित गर्ने प्रावधान रहेको जनाइएको छ । साधारणसभाले २०१९ का महासचिव कटवालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विप्लव आनन्दद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सन् २००९ देखि जेसीज अभियानमा जुटेकी कटवालले राजविराज जेसीजको जनसम्पर्क अधिकारी, शाखा सम्पादक, उपाध्यक्ष, सहसचिव, कार्यकारी उपाध्यक्ष, कानुनी सल्लाहकार र महासचिवको भूमिका निर्वाह गरिसकेकी छिन् । सन १९७६ मा स्थापना भएको राजविराज जेसीजले हालसम्म एक जना संस्थापक अध्यक्ष गरि ४४ जना अध्यक्ष प्राप्त गरिसकेका छन् भने दुई जना राष्ट्रिय अध्यक्ष समेत दिएको छ ।
राजविराज जेसीजको ४५ वर्षको इतिहासमा उनी पहिलो महिला अध्यक्ष हुनु भएको पूर्व अध्यक्ष शंकर शारदाले जानकारी दिएका छन् । जेसीजको दर्जनौ क्षेत्रीय र राष्ट्रिय सम्मेलनमा सहभागी भईसकेकी नवनिर्वाचित अध्यक्ष कटवालले आफ्नो कार्यकालमा जेसीजलाई सशक्त रुपमा क्रियाशील बनाउने बताईन् । जेसीजको विधान, भावना र मान्यताअनुरुप जेसीज अभियानलाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शान्ति र समृद्धिकालागि जिम्मेवार यूवाहरुको निर्माण गर्न र वर्ष २०२० लाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।