राजविराज, ६ पुस । सितलहरसँगै बढ्दो चिसोका कारण सप्तरीका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । विद्यार्थीहरु विद्यालय आउन छाडेपछि जिल्लाका पाँच स्थानीय तहले विद्यालय वन्दको निर्णय गरेका छन् ।
पछिल्लो चरणमा छिन्नमस्ता गाउँपालिकाले सोमवारदेखि १९ वटा विद्यालय चारदिनका लागि वन्दको निर्णय गरेको हो । ठण्डि वढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति पनि ह्वात्तै घटेपछि आइतवारदेखि ४ दिनका लागि विद्यालय वन्द गर्ने निर्णय गरिएको उक्त गाउँपालिकाका शिक्षा शाखा प्रमुख संतोश कुमार रायले बताए । ‘बालबालिका विरामी पर्नसक्ने सम्भावनालाई मध्य नजर गर्दै गाउँपालिका मातहतमा रहेका विद्यालयहरु ४ दिनसम्म बन्द गर्ने निर्णय भयो’ उनले भने–‘मौसममा सुधार नआए आवश्यकताअनुसार विद्यालयहरुमा थप विदा थपिने कुरा छ ।’
रुपनी गाउँपालिकाले पनि सोमवारदेखि वुधवारसम्म ३ दिनका लागि विद्यालय वन्दको निर्णय गरेको छ । बैठकबाट मातहतका विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो, गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भने ।
जिल्लाका ५ स्थानीय तहले विद्यालय वन्दको निर्णय गरेपछि १ सय २ विद्यालयमा केहि दिनका लागि पठन पाठन वन्द हुने भएको छ । विहानै देखिको वाक्लो हुस्सु तथा शितलहरका कारण विद्यालयमा विद्यार्थीको उपस्थिती अति न्युन रहेको गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको भनाई छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. ७ स्थित राष्ट्रिय आधारभुत विद्यालय हाटिमा २ सय २० विद्यार्थी मध्ये आईतवार ४५ जना मात्र उपस्थित रहेको प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् । यस्तै वडा नं. ६ स्थित जनता मावी खुदिवखारी कुपहीका ३ सय ५१ मध्ये आईतवार ५० जना मात्र उपस्थ्ति रहेको प्रधानाध्यापक कपिलेश्वर अमातले वताए ।
खडक नगरपालिका –३ स्थित कन्चिरा प्राथमिक विद्यालयमा पनि आईतवार विद्यार्थीको संख्या अति न्यून रहेको प्रधानाध्यापक रामचन्द्र साहले जानकारी दिएका छन् ।
ठण्डि वढेपछि राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगर प्रमुख शम्भुप्रसाद यादवले बताए।
तिलाठी कोइलाडी गाउँपालिले चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । यसअघि सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।
सप्तकोशी नगरपालिकामा ७ आधारभूत र ४ माध्यमिक गरी ११ वटा विद्यालयमा ३ हजार ६ सय ३६ विद्यार्थी अध्ययनरत छन् । यसैबीच, सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले ठण्डी अझै बढे गाउँपालिका मातहतका सामूदायिक विद्यालय पनि बन्द गरिने बताएका छन् ।
सप्तरी
बढ्दो चिसोका कारण सप्तरीका एक सय २ वटा विद्यालय बन्द
ठण्डी अझै बढे थप विद्यालय बन्द हुने