• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जङ्गली हात्ती नियन्त्रण गर्नेतर्फ सरोकारवालाको ध्यान पुगेन

‘मध्यरातमा जङ्गली हात्तीले बस्ती पसेर घरमा तोडफोड गर्न शुरु गर्छन्’ उनले भने–‘ज्यान जोगाउन हम्यहम्य हुन्छ ।’
जङ्गली हात्ती नियन्त्रण गर्नेतर्फ सरोकारवालाको ध्यान पुगेन

वृजमान तामाङ
विरेन्द्र वजार, ६ पुस । जङ्गली हात्तीले दैनिकजसो जनधनको क्षति गर्दै आतंकित बनाउँदा समेत हात्ती नियन्त्रण गर्नेतर्फ सरोकारवालाको ध्यान नपुगेको सप्तरीको उत्तरी भेगका सर्वसाधारणहरुले गुनासो गरेका छन् ।
हात्ती वस्तीमा पसेर निरन्तर दर्जनौ घर भत्काउँदै अन्नपातमा क्षति पु¥याउँदै आएको छ भने बेलाबखत मानवीय क्षति समेत गर्ने गरेको उनीहरुको दुखेसो छ । आफुहरु जोखिमपुर्ण जीवन बिताईरहँदा समेत हात्ती नियन्त्रणतर्फ सरोकारवाला उदासिन रहेको पीडितहरुले गुनासो गरेका हुन् । हात्तीले आतंक फैलाएको विषयमा स्थानीय सरकारदेखि प्रशासन, डिभिजन वन कार्यालयसहितका सरोकारवालालाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको स्थानीय श्रीराम विश्वकर्माले गुनासो गरे । ‘मध्यरातमा जङ्गली हात्तीले बस्ती पसेर घरमा तोडफोड गर्न शुरु गर्छन्’ उनले भने–‘ज्यान जोगाउन हम्यहम्य हुन्छ ।’
कतिखेर हात्तीको शिकार बन्ने हो भन्ने त्रासले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनको दुखेको छ । पछिल्लो पटक शनिवार राति मात्रै हात्तीले रुपनी गाउँपालिकामा आधा दर्जन घरहरु भत्काएर लाखौं रुपैयाँ बराबरको क्षति गरेको छ भने तरकारी बाली समेत नष्ट गरेको पण्डितले जानकारी दिएका छन् ।
मध्यरातकै समयमा आएको हात्तीको समूहले घरको टाटी भत्काएर धानको भकारी बाहिर लगेर १० मनभन्दा बढी धान खाएको रुपनी गाउँपालिका वडा नम्बर ६ का फुदाई लाल चौधरीले बताए । हात्तीको सो समूहले तरकारी बाली, घर र अन्नपात गरि ५० हजार रुपैयाँ बराबरको क्षति गरेको उनले न्यूज टुडेलाई जानकारी गराए ।
चौधरीका अनुसार गिता थापा, गिरिजा देवी यादव, गोकुल तामाङ, दिव्य प्रकाश चौधरी लगायतकाको घरमा हात्तीले क्षति गरेको हो । यसैगरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का दुर्गानन्द चौधरीको घर समेत हात्तीले भत्काएको छ ।
यता, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले क्षति र सर्वसाधारणमा हात्तीले फैलाएको आतंकका कारण आफुलाई दुखि तुल्याएको बताए । ‘समस्या सामाधानका लागि सरोकारवालाहरुसँग निरन्तर छलफल र पहल गरेपनि अझैसम्म ठोस निकास हुन सकेको छैन्’ उनले भने–‘तथापी, क्षति कम गर्न प्रभावित क्षेत्रमा विजुली वत्ती जडान गर्न सम्वन्धित वडा अध्यक्षहरुलाई निर्देशन दिएको छु ।’
अग्निसाईर कृष्णासवन गाउँपालिका अध्यक्ष परशुराम चौधरीले पनि कानूनी जटिलताका कारण हात्ती नियन्त्रण गर्न दिर्घकालीन कार्य गर्न नसकेको बताए । पीडितहरुलाई समान्य राहतबाहेक केही गर्न सकेको छैन, तथापी दिर्घकालीन रुपमा समस्या समाधान गर्न पहल जारी छ, उनले थपे ।