• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

झोले गैससको बढ्दो विगविगीले काम गर्ने संस्था अप्ठ्यारोमा परे : संयोजक यादव

झोले गैससको बढ्दो विगविगीले काम गर्ने संस्था अप्ठ्यारोमा परे : संयोजक यादव

राजविराज, ५ पुस । जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले झोले गैर सरकारी संस्थाको बढ्दो विगविगीका कारण काम गर्ने संस्था अप्ठ्यारोमा परेको बताएका छन ।
शनिवार सप्तरी सामूदायिक विकास केन्द्र नेपालको २१ औं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । गैर सरकारी संस्थामा रहेका कमी कम्जोरी सुधारकालागि पनि समय सापेक्ष रुपमा तत्सम्वन्धि ऐन कानूनमा संशोधन हुनुपर्ने उनले सुझाव व्यक्त गरे । संयोजक यादवले गैर सरकारी संस्थाले भोग्नु परेको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराइएपनि ऐन अभावका कारण समस्या समाधानमा बाधा पुगिरहेको बताए । स्पष्ट ऐन नभएकै कारणले केही पहुँचबाला गैर सरकारी संस्थाले माथि नै कुरा मिलाएर कार्यक्रम ल्याउने गरेको तर काम गर्ने धेरै जसो राम्रा संस्थाले काम नपाउने अवस्था रहेको उनको कथन थियो ।
सोही कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ध्रुव प्रसाद देवले
संघीय सरकारको उदासिनताका कारणले मुलुकमा गैर सरकारी संस्थाहरुको अवस्था धरासायी बन्दै गएको गुनासो गरे । उनले गैर सरकारी संस्थालाई कुन रुपमा सञ्चालन गर्ने भन्ने स्पष्ट नीति तयार नगर्दा ८० प्रतिशत दातृसंस्था पलायन भएको आरोप समेत लगाए । गैर सरकारी संस्था अहिले पनि संघ संस्था ऐन २०३४ कै आधारमा चल्ने गरेको बताउँदै उनले समय सापेक्ष परितर्वन नभएका कारणले धरासायी अवस्था आउन लागेको टिप्पणी गरे ।
सरकारले अधिकार अहिले पनि केन्द्रमै राखेको, प्रदेश तथा स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याइँ गरेका कारण त्यसको प्रभाव स्थानीयस्तरमा गैर सरकारी संस्थामाथि पनि परेको उनको भनाई थियो ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवझेशकुमार झा, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष सतिश दत्त, गैसस महासंघकी पूर्व उपाध्यक्ष सृजना दनुवार, जिल्ला समन्वयन समितिका अधिकृत नवराज खड्का, महासंघका जिल्ला सह सचिव चन्दनकुमार यादव, जिल्ला समन्वय समितिका सल्लाहकार विनोदकुमार यादव आयोजक संस्थाका उपाध्यक्ष बलदेव मण्डल लगायतले गैर सरकारी संस्थाको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।
सप्तरी सामूदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्दन चौधरीले १ करोड १३ लाख ५८ हजार ५ सय ५४ रुपैयाँको आयव्याय प्रस्तुत गरेका थिए । उनकै अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

अध्यक्षमा पुनः चौधरी
सप्तरी सामूदायिक विकास केन्द्र नेपालको अध्यक्षमा पुनः शम्भुनन्द चौधरी चयन भएका छन । शनिवार सम्पन्न केन्द्रको २१ औं अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता राजेन्द्र यादवले जानकारी दिएका छन ।
केन्द्रको उपाध्यक्षमा मिथिलेशकुमार यादव, सचिवमा महेशकुमार भगत, सहसचिवमा कौशल्याकुमारी यादव र कोषाध्यक्षमा खेलानन्द चौधरी चयन भएका छन । सदस्यहरुमा रमेशकुमार राम, कौशल्या विश्वकर्मा, रिना यादव र नवीनकुमार गुप्ता चयन भएको निर्वाचन संयोजक यादवले जानकारी दिएका छन ।