• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

चिसो अत्यधिक बढेपछि सप्तरीका थप दुई स्थानीय तहका विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि सप्तरीका थप दुई स्थानीय तहका विद्यालय बन्द

राजविराज, ५ पुस । चिसो अत्यधिक बढेपछि सप्तरीका थप दुई स्थानीय तहले आफु मातहतका सामूदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन । राजविराज नगरपालिकाले पुस ६ गते आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका ४२ वटै सामूदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय भएको उप मेयर साधना झाले जानकारी दिएकी छिन् । ठण्डी बढेका कारणले बालबालिका विरामी पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तिलाठी कोइलाडी गाउँपालिकाले पनि ४ दिनसम्म सामूदायिक विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार उक्त गाउँपालिकामा १७ वटा सामूदायिक विद्यालयहरु रहेका छन् । सप्तरीकै बलान विहुल गाउँपालिकाले पनि आइतवारको मौसमको अवस्था हेरेर मौसममा सुधार नआए विद्यालयमा छुटी दिनेबारे निर्णय गर्ने भएको छ । ‘आइतवारसम्म हामी हेर्छौं’ गाउँपालिका अध्यक्ष दयानन्द गोइतले भने–‘तबसम्म चिसो नघटे बैठक राखेर छुटी दिने निर्णय गरिने छ ।’
सप्तरीकै सप्तकोशी नगरपालिकाले यसअघि नै ११ सामूदायिक विद्यालयमा सोमवारसम्मकालागि विदा दिने निर्णय गरिसकेको छ ।