राजविराज, २ पुस । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा र राजपा बीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । दुई बुँदे सहमतिमा प्रदेश नम्बर २ मा ४ जना सदस्यका लागि हुने निर्वाचनमा २–२ सदस्य लिएर चुनावमा जाने सहमित भएको जनाईएको छ ।
कुल चार सदस्यमध्ये राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकको २ स्थानका लागि चुनाव लड्ने सहमती भएको छ । राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने छन् भने दलित पुरुष र महिला समूहका नेकपा उम्मेदवारलाई राजापाले सघाउने सहमति भएको छ । सहमति–पत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।