• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शम्भुनाथ नपा–१२ का वडा अध्यक्षसहित तीन जना पक्राउ

सामूहिक बलात्कार गर्न खोजेको आरोप
शम्भुनाथ नपा–१२ का वडा अध्यक्षसहित तीन जना पक्राउ

राजविराज, २५ मंसिर । महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका एक वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले वडा नम्वर १२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई बुधवार विहान पक्राउ गरेको हो । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
थप अनुसन्धानपछि दुवैको नाम पनि सार्वजनिक गरिने डिएसपी तिलक भारतीले जानकारी दिए । नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका साह र अन्य दुई जनाले आफुमाथि सामूहिक बलात्कार गर्न खोजेको भन्दै सोही ठाउँकी एक महिलाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उजुरीअनुसार गत मंसिर १४ गते वडा अध्यक्ष साहले दुवै जनालाई मोटरसाइकलमा पठाएर कामको वहानामा वडा अध्यक्षकै कुखुरा फर्म बोलाएको तथा सोही ठाउँमा सामूहिक बलात्कार गर्न खोजेको उल्लेख छ । सोही उजुरीको आधारमा वडा अध्यक्ष साहसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको डिएसपी भारतीले बताए ।
विपक्षीको षड्यन्त्रण रहेको दावी
घटनाबारे नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ । पार्टीले बुधवारै विज्ञप्ति जारी गर्दै स्थानीय विपक्षी समूहबाट पूर्वनियोजित ढंगले घटना गराइएको ठहर गरेको छ । जिल्ला कार्य समितिका सचिव शत्रुध्न प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा पुरानो रिसिबी साध्न, वडा अध्यक्ष साहलाई बदनाम गराउन र फसाउँने नियतले रचिएको षड्यन्त्र रहेको दावी गरिएको छ ।
घटनाको सुक्ष्म तथा उच्चस्तरीय छानवीन आयोग गठन गरी अविलम्व छानवीन प्रारम्भ हुनुपर्ने र पीडित भनिएकी महिलामाथि पनि छानवीन हुनुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।