राजविराज २५ मंसिर । सप्तरी प्रहरीले अपराध र कुरिती विरुद्ध सचेतना फैलाउन उद्देश्यले बुधवार राजविराजमा कक्षा सञ्चालन गरेको छ ।
अपराध न्यून गर्न र कुरिती समाप्त पार्न सक्रियताकासाथ अभियान नै सञ्चालन गरिरहेको प्रहरीले सोही अभियान तहत कक्षा सञ्चालनमा ल्याएको हो । अभियान तहत ग्रामिण तथा सहरी क्षेत्रका विद्यालयहरुमा अपराध र कुरिती विरुद्घ सचेतनामूलक कार्यक्रम गर्दै आएकोमा सोही अनुसार कक्षा सञ्चालन गरिएको एसपी कृष्ण प्रसाईंले बताए ।
उनले कक्षामा साईबर अपराध, मानव बेचविखन, महिला हिंसा, सडक सुरक्षा, दाईजो, बालविवाह, लागु औषध सेवन र कारोबार लगायतका अपराध र कुरिती विरुद्ध सचेतना प्रदान गरिने बताए । ‘युवा युवतीमा बढदो साईबर अपराध, लागू औषध सेवन र कारोबार, मानव बेचविखन लगायतका बिकृतिहरु बढदै गएको छ’ एसपी प्रसार्इंले भने–‘त्यसबाट बच्न–बचाउन, कानूनले रोकेका विषय र विभिन्न अपराधमा हुने गरेको सजायको व्यवस्था लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइन्छ ।’ अपराध र कुरिती न्युनिकरण गर्न कक्षा सञ्चालनले ठुलो मदत पुग्ने एसपी प्रसार्इंको विश्वास छ ।