राजविराज, १८ मंसिर । सप्तरीका उद्योगी व्यवसायीहरुको एक समूहले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई बुधबार सामुहिक रुपमा निवेदन दिएका छन् ।
व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी सुनिल खनाल समक्ष संयुक्त रुपमा निवेदन दिएका हुन् । उद्योग वाणिज्य संघको साधारण सभा तथा निर्वाचन नै नगरी लामो समयसम्म वर्तमान कार्यसमिति पदासिन रहेको भन्दै वैधानिक प्रक्रिया अवलम्वन गर्न व्यवसायीहरुले माग गरेका छन् ।
भन्सारबाट हुने चोरी पैठारीका कारण जिल्लाको व्यापार समाप्त भएको साथै राजश्व समेत गुमिरहेको तथा व्यापारीहरुको मान मर्यादामा समेत आँच पुगिरहेकोले चोरी पैठारी नियन्त्रण गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझाउन सप्तरी उद्योग वाणिज्य संघका पूर्व महासचिव सुरेश कुमार सिंह, व्यवसायीहरु अमृत सिंह, अमित साह, रमेश कुमार साह, रमेश साह, श्यामबाबु साह लगायतका व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।