राजविराज, १२ मंसिर । भारतको पञ्जावस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ्गमा अध्ययरत सप्तरीका एक युवकको मृत्यु भएको छ ।
महादेवा गाउँपालिका–२ महादेवाका १८ वर्षीय हेमन्त मण्डलको बुधबार राति मृत्यु भएको हो । विश्वविद्यालयका प्रशासनको लापरबाहीका कारण पञ्जावस्थित मण्डी गोविन्दगर्हमा रहेको रिम्टमा अध्ययनरत मण्डलको मृत्यु भएको हो ।
हेमन्तको मृत्यु भएपछि आक्रोशित नेपाली र केही कश्मिरी विद्यार्थीहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन् । उनीहरुले विश्वविद्यालय प्रशासनको चरम लापरबाहीका कारण हेमन्तको मृत्यु भएको आरोप लगाएका छन् ।

एक विद्यार्थीका अनुसार हेमन्तलाई बुधवार बिहानैदेखि अस्वभाविक रुपमा पेट दुखिरहेको थियो । सो विषयमा विश्वविद्यालयका वार्डेन मोहन सिंहलाई जानकारी गराउँदै अस्पताल जानका लागि छुटी मागेका थिए । तर, वार्डेनले छुटी स्वीकृत गर्न ५ सय रुपैयाँ मागेको तथा हेमन्तले पैसा तिर्न नसक्दा अस्पतालसम्म पुग्न नसकेर उनको मृत्यु भएको विद्यार्थीहरुको भनाई छ ।
मृतक हेमन्तको शव भने सोही ठाउँमा रहेको मण्डी गोविन्दगर्ह अस्पतालमा राखिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले मृतक हेमन्तका पिता बलराम मण्डललाई घटनाबारे जानकारी गराईसकेको जनाएको छ ।