राजविराज, १० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा मङ्गलवार सप्तरीको राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा किशोर किशोरी कानूनी शिक्षा विषयमा तालिमको आयोजना गरियो ।
‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ आयोजित तालिममा कक्षा १० का ३५ जना किशोर किशोरीलाई कानून व्यवसायीहरुले संविधान र कानूनी ज्ञानका बारेमा जानकारी दिईएको छ । ‘यौन दुव्र्यवहार र बालयौन दुराचार’ शिर्षकमा कानूनी सहायता अधिकृत रामप्रसाद गौतम, ‘संविधानमा मौलिक हक र बालअधिकार’ शिर्षकमा अधिवक्ता मनु खनाल तथा ‘विवाह र बाल विवाहसम्बन्धी कानूनी व्यवस्था’ शिर्षकमा अधिवक्ता दानो चौधरीले तालिम सञ्चालन गरेको समग्र जनउत्थान केन्द्रकी मुन्नी कुमारी रामले जानकारी दिए ।
सप्तरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साहको अध्यक्षता एव्म मूल समारोह समितिका मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सहजिकरण अधिवक्ता रंजिता रिजालले गरिन् । कार्यक्रममा रासस प्रतिनिधी पुनम पोखरेल, समग्र जनउत्थान केन्द्रका लक्ष्मी परियार, निरज जयसवालको उपस्थिती रहेको थियो ।
पितृसत्तात्मक सोच, महिला र पुरुषबीचको असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना, हानिकारक मूल्यमान्यता र हिंसामा परेका महिलाले प्राप्त गर्ने सीमित न्यायका कारण अपेक्षाकृतरुपमा महिला हिंसा न्यूनीकरण हुन नसकिरहेकोले किशोरकिशोरीलाई कानूनी रुपमा सबल बनाउन तालिमको आयोजना गरिएको मूल समारोह समितिका मनोहर पोखरेलले बताए ।