राजविराज ५ मंसिर । आर्थिक अनियमितता लगायतको आरोपमा विवादित बनेको सप्तरीको विष्णुपुर गाउँपालिका–१ जनता माध्यमिक विद्यालय खुरहुरियामा स्थानीय अभिभावकहरु रिले अनशनलाई निरन्तरता दिएका छन् ।
विभिन्न ६ बुँदे माग राखेर विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र अभिभावकहरुले संयुक्त रुपमा रिले अनशन थालेका हुन् । विद्यालय व्यवस्थापन समितिका सदस्य राम नारायण यादव र संजिव कुमार यादव समेतको अगुवाईमा प्रधानाध्यापक कक्ष, लेखा शाखा र व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी विद्यालयको प्रवेशद्वार छेउमा बुधबारदेखि उनीहरु रिले अनशनमा बसेका छन् ।
आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्मको आय–व्यय सार्वजनिक गर्न गर्दा माग गर्दा प्रधानाध्यापक सुर्यनारायण यादवले आलटाल गर्दै आएको उनीहरुको आरोप छ । सामाजिक लेखा समितिले वेरुजु ठहर गरेको १ करोड ८१ लाख रुपैया अविलम्ब फर्छयौट गर्नुपर्ने, अभिभावक भेला बोलाउनुपर्ने, शिक्षक छनोट समितिको कार्यविधि पारदर्शी गर्नुपर्ने र विद्यालय व्यवस्थापन समितिको बहुमत सदस्यहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
आफुहरुले राखेको ६ बुँदे माग पुरा नभएसम्म तालाबन्दी र रिले अनशन कुनै पनि हालतमा नरोकिने उनीहरुले बताए । कुल ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिमध्ये विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादव, समितिका अध्यक्ष चितरञ्जन यादव सहित ४ जना बाहेक सवै सदस्य आफुहरुको समर्थनमा रहेको समितिका सदस्य रामनारायण यादवले जानकारी दिएका छन् ।
उनीहरुले यस अघि गत मङ्गलवार प्रधानाध्यापकले गरेको अनियमिताको विषयमा छानबिन गरी कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले तत्कालै उक्त विषयमा केही भएको हो ? सत्यतथ्य बुझी आवश्यक कार्वाही गर्न भनी पत्राचार गरेको थियो ।
के भन्छन् विद्यालयका प्रधानाध्यापक ?
आर्थिक अनिमितता लगायतका विषयमा विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले आर्थिक अनियमितता नगरेको दावी गर्दै आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ र २०७४/०७५ को आयव्ययको लेखापरीक्षण, सामाजिक लेखापरीक्षण, अभिभावक भेलाद्वारा अनुमोदन हुनुका साथै विद्यालय व्यवस्थापन समितिले समेत अनुमोदन गरिसकेको जानकारी दिएका छन् । गत कार्तिक २० गते विज्ञापन गरी भर्ना गरिएको प्रावि राहत शिक्षकमा आफ्नो व्यक्ति छनौटमा नपरेकोले त्यसलाई रिसइबी बनाएर विद्यालयमा तालाबन्दी तथा विद्यालयको प्रवेशद्वारा रिले अनशन थालेको उनले बताए ।
सप्तरी
मावि खुरहुरियामा तालाबन्दी र रिले अनसन जारी
प्रधानाध्यापकमाथि आर्थिक अनियमिताको आरोप