• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज बसपार्कमा बल्ल निर्माण कार्य सूचारु

म्याद सकिन अब १३ महिना मात्र बाँकी
राजविराज बसपार्कमा बल्ल निर्माण कार्य सूचारु

राजविराज, ४ मंसिर । स्थानीय केही व्यक्तिहरुको अवरोधले ठप्प रहेको राजविराज बसपार्सको निर्माण कार्यले यतिबेला तिब्रता पाएको छ ।
स्थानीय रीता दास, धनश्याम दास, रामकुमार दास, ललितादेवी मण्डल लगायतले निर्माणाधिन बसपार्कमा निजी जग्गा रहेको भन्दै मुद्दा हालेपछि निर्माण कार्य अवरुद्ध रहँदैआएको थियो । सप्तरी जिल्ला अदालतबाट निशेधाज्ञा जारी भएपछि बसपार्कको निर्माण अवरुद्ध रहेकोमा एक महिना अघि अदातलतबाट मुद्दा छिनोफानो भएपछि निर्माण कार्य अगाडि बढाईएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत २०७४ गत माघ २६ गते बसपार्कको शिलान्यास मन्त्रालयका सचिव डा. दिपेन्द्रनाथ शर्माले गरेका थिए । बस पार्क निर्माणको ठेक्का सिनर्जी विल्डर्स प्रालि काठमाडौंलाई दिइएको छ । कर बाहेक कुल १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँमा निर्माण थालिएको यस बस पार्कमा सेड, घण्टाघर, भित्रिसडक, सर्भिस सेन्टर, शौचालय, इन्धन ड्रेन, कम्पाउण्ड पर्खाल र टर्मिनल भवन निर्माण गरिने सम्झौता छ ।
यद्यपी निर्माण कार्य थालिए लगत्तै अदालतमा मुद्दा परेपछि काम अवरुद्ध रहँदैआएकोमा अदालतबाट छिनोफानो भएपछि काम द्रुत गतिमा अगाडि बढाईएको निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका ई. अमित साहले जानकारी दिएका छन् । उनका अनुसार २०७७ पुस १८ गतेभित्र निर्माण कार्य सम्पन्न गरी राजविराज नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकोले कामदार थप गरी द्रुत गतिमा काम अगाडि बढाईएको छ । उनले भने ‘अदालतबाट नै तत्काल निर्माण कार्य नगर्न नगराउन आदेश भएपछि बाध्यतावस काम रोक्नु परेको थियो, तर अब मुद्दा नै फैसला भएपछि पुनः काम अगाडि बढाएका छौं, तोकिएकै समयभित्र काम सिध्याउने गरी हामी अगाडि बढेका छौं ।’
आफु मेयर भए लगत्तै सहरी विकास मन्त्रालयसँग पहल गरी बसपार्क निर्माण गर्ने संकल्पकासाथ बजेट ल्याएर शिलान्यास समेत गराई काम अगाडि बढाउने क्रममा स्थानीय केही व्यक्तिहरुद्वारा मुद्दा परेका कारण बसपार्कको अगाडि बढ्न नसकेको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बताए । अदालतको फैसलाबाट जग्गा सम्वन्धी विवाद निक्र्यौल भए लगत्तै निर्माण कम्पनीले काम अगाडि बढाएको जानकारी दिँदै उनले भने ‘म्याद सकिन करिब १३ महिना बाँकी छ, नबिराईकन काम भईरह्यो भने तोकिएकै समयमा काम सम्पन्न हुनेमा म आशावादी छु ।’ हालसम्म करिब १५ देखि २० प्रतिशत काम सम्पन्न भएको बताउँदै उनले सबैपक्षलाई सहयोग गर्न मेयर यादवले आग्रह गरेका छन् ।
देशकै पहिलो टाउन प्लानिङ्ग सिटी राजविराजमा बस पार्क नभएका कारण अव्यवस्थित रुपमा दिवा तथा रात्री बसहरु सञ्चालन हुँदैआएको छ । जसका कारण कारण नगरका मुख्य सडक तथा चौकहरुमा ट्राफिक जाम हुने गरेको छ । साँझ र बिहानको बेला ट्राफिकलाई व्यवस्थित गर्न हम्महम्मे पर्ने गरेको छ ।