• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
असई महतो ‘पुलिस अफ दि मन्थ’

राजविराज, २९ कार्तिक । सङ्गठनमा प्रशंसनीय कार्य गरेको भन्दै सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अर्जुनकुमार महतोलाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गरिएको छ ।
महतोले कार्तिक महिनामा उत्कृष्ट कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई शुक्रवार ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेका हुन् । विभागीय नीति निर्देशन, संगठनको मुल्य मान्यता र अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रणमा गरेको कार्यलाई प्रशंसा गर्दै उनलाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गरिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।
महतोले गरेको प्रशंसनीय कार्य
गत कार्तिक १ गते कंचनरुप नगरपालिका–५ पिप्राका २३ वर्षीय अजयकुमार मुखिया वेपत्ता भयो । बँदेल मार्न साथीहरुसँग जङ्गल गएका मुखिया वेपत्ता भएसँगै परिवारजनले प्रहरीमा जाहेरी गरे । जाहेरीकै आधारमा असई महतो नेतृत्वकै प्रहरी टोलीले अनुसन्धान थाले । सोही क्रममा मुखियाका साथीहरु सोही ठाउँका रमेश सरदार र श्रीलाल सरदार फरार रहेको पाइयो ।
उनीहरुलाई खोजतलास गर्ने क्रममा ४५ वर्षीय श्रीलाल सरदारलाई कार्तिक ५ गते उदयपुरको कटारी पक्राउ गरे । श्रीलालकै बयानको आधारमा उनको २० वर्षीय छोरा विजय सरदारलाई समेत पक्राउ गरियो ।
अनुसन्धानकै क्रममा मुखियालाई जमिनमुखि गाडिएको वयानको आधारमा सोही वडा स्थित त्रियुगा नदीको किनारमा उत्खनन् थालियो । पाँच फिट उत्खनन् गरेपछि मुखियाको शव भेटिएको थियो ।