राजविराज, २७ कात्तिक । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएपनि सप्तरीमा सवारी दुर्घटना भने कम हुन सकेको छैन् । सवारी दुर्घटना हुने प्रमुख कारणमध्ये एक हो, मापसे (मादक पदार्थ सेवन) । प्रहरीले पनि दुर्घटना कम गर्न मापसे गरेर सवारी नचलाउन विभिन्न सचतेनामुलक कार्यक्रममार्फत आग्रह गर्दै आएको छ । तर, सप्तरीको स्थानीय सरकारकै सवारी मापसे गरेर चलाउने गरेको पाइएको छ ।
विष्णुपुर गाउँपालिकाको स१झ ५०३ नम्वरको स्कारपीओले सोही गाउँपालिका वडा नम्वर ७ स्थित सामाचकेवा पर्व मनाइरहेका एक समूहलाई नै ठक्कर दिएपछि सो कुरा बाहिरिएको हो । मंगलवार राति साढे ९ बजेतिर विष्णुपुरबाट राजविराजतर्फ आउँदै गरेको स्कारपिओले ठक्कर दिँदा दुई बालकसहित चार जना घाईते भए ।
दुर्घटना लगत्तै पुगेको प्रहरीले सोही गाउँपालिका वडा नम्वर ६ का स्कारपिओका चालक सुकमार यादवलाई नियन्त्रणमा लिए । प्रारम्भिक अनुसन्धानको क्रममा मदिराको नशामा धुत्त रहेका चालक यादवले सवारीमाथि नियन्त्रण गुमाएर दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवमाथि अभद्र व्यहारको मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
दुर्घटनामा सोही गाउँपालिका वडा नम्वर ७ का रामनारायण साहका १३ वर्षीय छोरा दिपेश साह, सोही ठाउँका इन्द्र मण्डलका १० वर्षीय छोरा राधेश्याम मण्डल, ५० वर्षीया घुर्नीदेवी साह र रामदेव मण्डलका ११ वर्षीया कजलीकुमारी मण्डल घाईते भएका छन् ।
घाइते दिपेश, राधेश्याम र घुर्नीदेवलाई थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने कजलीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सप्तरी
विष्णुपुर गापाको सवारी मापसे गरेर सञ्चालन
स्कारपिओको ठक्करले दुई बालकसहित चार जना घाईते