राजविराज, २५ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–६ स्थित रन्जितपुर निवासी इतिहासविद् प्रा. डा. पीताम्बरलाल यादवले सोमवार आफ्ना माता–पिताको शालिक अनावरण तथा पुस्तक लोकार्पण गरेका छन् ।
महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका अवकाशप्राप्त प्राध्यापक डा. यादव र पत्नी दुर्गा देवी यादवले पिता स्व. सीताराम यादव र माता स्व.जसोधिया देवी यादवको स्मारक एवम् प्रतिमा निर्माण गरी अनावरण गरेका हुन् । स्थापनाकर्तामा सीताराम र जसोधियाका सुपुत्रहरु महन्थी यादव, डा. पिताम्बरलाल यादव, दिगम्बर यादव, पुत्रीहरु कैली देवी यादव, सोमनी देवी यादव र श्यामा देवी यादव रहेका छन् । विधिवत रुपमा शास्त्री रामकुमार यादवद्वारा मन्त्रोच्चारण तथा पूजाआजा गरी तीनै दाजुभाइले संयुक्त रुपमा आफ्ना मातापिताको शालिक अनावरण गरेका छन् ।
सोही कार्यक्रममा डा. यादवद्वारा लिखित ‘हम और हमारे सम्बन्धी’ वंशावली पुस्तक वितरण गरिएको छ । उक्त पुस्तकमा विभिन्न ठाउँमा बसोबास गर्दैआएका पूर्वजदेखि हालसम्मको जिवनी सहित विस्तृत पारिवारिक विवरणहरुलाई समावेश गरिएको डा. यादवकी छोरी आर्किटेक अन्जु यादवले जानकारी दिएकी छिन् । उक्त कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । डा. यादव लुम्बिनी बौद्ध विश्व विद्यालयका पूर्व रजिष्ट्रार हुन् । उनका आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।