राजविराज, २४ कार्त्तिक । सप्तरीका मुस्लिम समूदायले पनि इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर मुस्तफा सल्लल्लाहु अलैहिवस्सल्लमको १५४१ औं जन्मोत्सव (मोहम्मद डे) आइतवार विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाएका छन् ।
सदरमुकाम राजविराजमा प्रभातफेरी, रक्तदान, सामुहिक नमाज (प्रार्थना सभा) तथा गरिब र असहायहरुकालागि निःशुल्क भोजन लगायतका कार्यक्रम गरी उल्लासका साथ जन्मोत्सव मनाएका हुन् । धर्म प्रवर्तक मोहम्मदलाई स्मरण गर्दै राजविराज स्थित नुरी जाम्मे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज लगायतको अगुवाईमा निकालिएको ¥यालीले नगर परिक्रममा गरेको छ ।
धर्म, सद्भाव र शान्तिको पक्षमा नारा लगाउँदै निकालिएको ¥यालीमा मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो । ‘अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ सिकाएको छ’ मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले भने–‘सो पाठ समग्र मुस्लिम समूदायले अनुसरण गर्नुपर्छ ।’ हजरत मोहम्मदको जन्मोत्सवलाई भव्यताकासाथ मनाउन प्रदेश २ सरकारले आइतवार सार्वजनिक विदा समेत दिइएको थियो ।