राजविराज, १४ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ हनुमाननगर बजारबाट बालिकालाई अपहरण गर्न खोजेको आरोपमा विहिवार दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मामा घर हनुमाननगर आएकी मोरङ्गको कर्चियाका सञ्जय शर्माकी ८ वर्षीया छोरी आचल शर्मालाई अपहरण गरेर लग्ने क्रममा स्थानीयहरुले दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।
दुवै जनाले चिया र विस्कुट दिने प्रलोभन दिएर भान्जीलाई बजारबाट ५ सय मिटर पश्चिमतर्फ पु¥याएको बेला आफुले देखेपछि स्थानीयहरुको सहयोगमा दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएको आचलका मामा रवि शर्माले बताए ।
इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज कमलकुमार लुगेंलीले नियन्त्रणमा लिएका भारत विहार राज्यको सुपौल बथनाहाका २० वर्षीया आनन्द गौसामी र सुपौलकै भिडियाघाटका २२ वर्षीया अमिर झा रहेको जानकारी दिए ।
‘सोधपुछको क्रममा बालिका र पक्राउ परेकाबीच कुनै सम्वन्ध देखिएन्’ उनले भने–‘दुवैको शरीर खानतलाशी गर्दा एउटा प्लाष्टिकको बोरा समेत भेटिएकोले शंकास्पद नै छ ।’ दुवै जनामाथि थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय राजविराज पठाइएको इन्चार्ज लुगेंलीले बताए ।