राजविराज, ७ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित सार्वजनिक पोखरीमा डुवेर सोमवार पाँच वर्षिया वालिकाको मृत्यु भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ६, मधेपुरा स्थित पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबेर पञ्चदेव मण्डलकी छोरी सरिताको मृत्यु भएको हो । सरितासँगै पोखरीमा डुबेकी छिमेकी दशरथ मण्डलकी ५ वर्षिय छोरी रुपालीको अवस्था सामान्य बन्दै गएको छ ।
सोमवार दिउँसो करिव साढे तीन वजे दुवै वालिका खेल्दाखेल्दै पोखरीको डिलमा पुगेका थिए । सोही क्रममा पोखरीमा डुवेका दुवैलाई स्थानीयले उद्दार गरी उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएका थिए । यद्यपी उपचारकै क्रममा सरिताको मृत्यु भएको र रुपालीको उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । त्यहाँ पनि उपचार सफल हुन नसकेपछि उनलाई विराटनगर स्थित विराट मेडिकल केलज एण्ड हस्पिटलमा भर्ना गरिएको छ । उनको अवस्था सुधार हुँदै गएको परिवारजनले जनाएको छ ।
मृतक वालिकाको शव पोष्ट मार्टम पश्चात परिवारजनको जिम्मा लगाईएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीको डिल मुनी गहिरो खाडल रहेकाले बच्चाहरु डुबेको स्थानीयवासिन्दा सतन मंण्डलले जानकारी दिएका छन् । गत आ.व.मा मात्र गाउँपालिकाले ६ लाख ५० हजार रकम खर्च गरेर उपभोक्ता मार्फत पोखरीको डिलको मरम्मत सम्भार गरेको समेत उनले बताए ।