• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वर्षाले तिलाठी कोइलाडीसहित जिल्लाभरिको जनजिवन प्रभावित

वर्षाले तिलाठी कोइलाडीसहित जिल्लाभरिको जनजिवन प्रभावित

राजविराज, १ असोज । मङ्गलवार रातीदेखि बुधवार अपरान्हसम्म परेको वर्षाका कारण जिल्लाको विभिन्न नदीहरुमा आएको बाढीले जनजिवन प्रभावित भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी, हनुमाननगर कंकालिनी, राजविराज लगायतका नगरपालिका तथा अन्य गाउँपालिकाको बस्तीमा बाढीको पानी पसेको छ । सोमवार रातीदेखि वर्षा तथा मङ्गलवार रातीदेखिको वर्षाले बस्ती तथा धानखेतहरुमा बाढीको पानी पस्नुका साथै केही स्थानमा धान खेत तथा नहरहरु समेत कटानमा परेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहका अनुसार खाँडो र जीता नदीमा आएको बाढीको पानी पुनः बस्ती पसेको छ । यस्तै बेल्ही भन्सार कार्यालय भवन, प्रहरी क्याम्प लगायतका क्षेत्र डुबानमा परेको छ । सडक भएर बाढीको पानी बगिरहेका कारण आवागमनमा समेत समस्या भएको उनले जानकारी दिएका छन् । बुधवार दिउँसोदेखि वर्षा रोकिएका कारण पानीको मात्रा समेत विस्तारै घट्दै गएकोले थप क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।
यस्तै कोशी नदीमा समेत जलस्तर बढेको थियो । कोशीको पानी हनुमाननगर कंकालिनी नगरपालिकाको केही बस्तीहरुमा समेत पानी पसेको जनाईएको छ । यद्यपी वर्षाले खासै क्षति भने पुर्याएको छैन ।
यस्तै राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बन्न पुगेको थियो । वर्षाले गर्दा नगरक्षेत्रका बाटोहरु जलमग्न हुँदा आवागमनमा समेत समस्या भएको थियो । बर्षाको पानी निकास नपाउँदा नगरका वडा नम्वर ३, ४, ५, ७, ११ र १६ वडाका घरहरुमा समेत पानी पसेको थियो । तस्विरः सतिश कुमार सिंह