• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नपामा मोटरसाइकल खरिदमा मनपरी

राजविराज, ३१ भदौ । सप्तरीको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट गोलमाल गर्न सामान्य नियमलाई समेत ख्याल नगरी कारोबार गरिरहेको गुनासो भईरहेको बेला राजविराज नगरपालिकाले पनि मनपरी कारोबार गरेको पाईएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा १३ वटा मोटरसाइकल खरिद गर्न नियम र प्रक्रिया मिचेर आर्थिक कारोबार गरेको खुलेको हो । सार्वजनिक खरिद नियमावली २०७४ को नियम ९ र ११ बमोजिम कार्यालयले खरिद गर्ने मालसामानको स्पेसिफिकेशनको अधिनमा लागत अनुमान तयार गर्नुपर्ने हुन्छ ।
सोही नियमावलीको नियम ८५, ८४ र ३१ अनुसार ५ लाखसम्म सोझै, २० लाखसम्म सिलबन्दी दरभाउ पत्र र २० लाखभन्दा बढी लागत अनुमान भएमा बोलपत्रको माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था छ । तर, राजविराज नगरपालिकाले भने लागत अनुमान नै तयार नगरी नियम ३१ (ख) अनुसार ७ दिने सूचना प्रकाशन गरेर क्याटलग वा ब्रोसर मात्र माग गरी मुल्य प्रतिस्पर्धा नै नगराई कारोबार गरेको महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा ठहर गरिएको छ । त्यसममध्ये पनि अटोमोवाइल एण्ड इलेक्ट्रोनिक सप्तरी प्रालिको बिल नम्वर २९१ बाट सूचना प्रकाशन पूर्व नै २ लाख ५२ हजार ९ सय रुपैयाँमा १८० सीसीको मोटरसाइकल खरिद गरी विजक मिति सच्याएर २०७५÷०३÷२२ गतेमा जारी गरेको देखाईएको छ ।
सो कार्यले प्रतिस्पर्धात्मक खरिद मुल्य नियमावलीको अनुसरणमा असर परेको छ भने प्रतिस्पर्धा बेगर तथा विजक मुल्यको मिति नै सच्याई कारोवार गर्न विधि र नियम मिचेको प्रतिवेदनमा उल्लेख छ । सोही आर्थिक वर्षमा नगरपालिकाले जगदम्वा अटो ट्रेड सेन्टर र अटो मोवाइल एण्ड इलेक्ट्रोनिक सप्तरी प्रा.लि. गरी दुई वटा विक्रेताबाट ३१ लाख ५ हजार ३ सय ९ रुपैयाँ ५ पैसामा १३ वटा मोटरसाइकल खरिद गरेको छ ।
प्रतिवेदन अनुसार १ सय ५० र १ सय ८० सीसीको पल्सर मोटरसाइकल ४ वटा तथा १ सय ५० सीसीको यामाहा मोटरसाइकल ८ वटा र १ सय १३ सीसी यामाहाकै स्कुटर १ वटा खरिद गरेको छ । पल्सर मोटरसाइकल अटो मोवाइल एण्ड इलेक्ट्रोनिक सप्तरी प्रालि र यामाहा मोटरसाइकल जगदम्वा अटो ट्रेड सेन्टरबाट अनियमित ढङ्गले खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।