• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सितापुरमा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

सितापुरमा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

राजविराज, १३ भदौ । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी सितापुरमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएकोे छ ।
स्वास्थ्य शाखा सञ्चालन व्यवस्थापन समिति स्वास्थ्यचौकी सितापुरद्वारा शुक्रवार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष प्रशुराम चौधरीले स्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा बढी लगानी गरेको बताए । उनले गाउँपालिकामा स्वास्थ्य प्रयोगशाला नहुँदा सेवाग्राहीहरु बाहिर जान बाध्य भएका थिए । प्रयोगशाला सञ्चालनसँगै आमजनताले गाउँमै स्वास्थ्यलाभ लिन सकिने उनले दावी गरे ।
स्वास्थ्यकर्मीहरुको प्रयास र सक्रियताले प्रयोगशाला सञ्चालनमा आएको भन्दै अध्यक्ष चौधरीले स्वास्थ्यकर्मीले हासिल गरेको सफलताको प्रशंसा गरे । आम जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको उनले बताए । एकवर्षभित्रै १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याउने अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गरे ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति स्वास्थ्यचौकी सितापुरका संयोजक एवम् वडा नम्वर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाइर कृष्णासवरण स्वास्थ्य संयोजक जागेश्वर खड्गाले क्षयरोग, औंलो, कृष्ठरोग जस्ता सरुवा रोगहरुको निःशुल्क जाँच गरिने बताए । कार्यक्रममा राजनीतिकर्मी बेचन प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ्ग, स्वास्थ्यचौकी जण्डौलका प्रमुख द्रोपदी चौधरी, स्वास्थ्य संस्था सञ्चालन समिति सदस्य भवानी प्रसाद चौधरी, ल्याब टेक्निसियन कोपिला कोइराला लगायतले मन्तव्य व्यक्त गरे । स्वास्थ्यचौकी प्रमुख हरिनारायण चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सिनियर अहेव रामेश्वर प्रसाद यादवले गरे ।