राजविराज, १३ भदौ । सप्तरीको राजविराज नगरपालिका–७ भगवती मन्दिर परिसरमा रहेको वासुदेव मिस्त्री स्मृति धर्मशाला कब्जामा परेको छ । २०५७ सालमा निर्माण गरिएको धर्मशालामा विश्वकर्मा लोहार सेवा समिती जिल्ला कार्यालय सप्तरीले कब्जा जमाएको हो ।
समितीले वर्षौदेखि धर्मशाला भोगचलन गर्दै आएको छ भने आफुखुसी खोल्ने तथा बन्द गर्ने गरेको पाइएको छ । नगरपालिकाले धर्मशालामा लगाएको ताला फुटाएपछि समितीले कब्जामा लिएको तथ्य बाहिरिएको हो ।
धर्मशालामा सुरुदेखि नै लगाएको ताल्चा खोज्न समितीका अध्यक्ष तथा दाता समेत रहेका देवेन्द्र मिस्त्रीलाई दुई पटक जानकारी गराउँदा समेत वेवास्ता गरेकोले बाध्य भएर मुचुल्का तयार पारेर सवैको रोहवरमा ताल्चा फुटाएको नगरपालिका कार्यालयले जनाएको छ ।
मन्दिर परिसरमा रहेको धर्मशालामा कार्यालय सञ्चालनले धर्मशाला र मन्दिरको समेत अस्तित्व संकटमा परेको नगरपालिकाको भनाई छ । यता, धर्मशालाका दाता एवम् समितीका अध्यक्ष समेत रहेका मिस्त्रीले सुरुदेखि नै समितीको बोर्ड झुण्डियाएको स्वीकार गरे । ‘बोर्ड झुण्डिएको विषयमा यसअघिसम्म कसैले असहमति जनाएकै थिएन’ उनले भने–‘असहमतिपछि बोर्ड हटाईदिन्छु ।’