• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनतालाई अझै गाउँगाउँमा सिंहदरबारको अनुभुति भएनः मन्त्री साह

जनतालाई अझै गाउँगाउँमा सिंहदरबारको अनुभुति भएनः मन्त्री साह

राजविराज, १२ भदौ । प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले देशमा संघीयता आएसँगै गाउँगाउँमा सिंहदरबार भनिएपनि संघ र स्थानीय सरकारले जनतालाई प्रत्याभुति गराउन नसकेको बताएका छन ।
विहिबार जिल्ला समन्वय समिति सप्तरीको वार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन् । ‘देश संघीयता गएसँगै गाउँगाउँमा सिंहदरबारको नाराले चर्चा पायो’ उनले भने–‘कारण अरु हुनसक्छ, तर जनताको ठुलो अपेक्षा जोडियो ।’
बाँच्न पाउने आधारभुत आवश्यकतादेखि विकास निर्माण, अवसर, रोजगार लगायतका कुरा पाउने जनताले लिएको अपेक्षाअनुकुल अझैसम्म पुरा हुन नसकेको उनले बताए । ‘गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा जनताको आधारभुत आवश्यकता पहिलो चरणमै पुरा हुनुपर्ने थियो’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले भने–‘केहि रुपमा यस्तातर्फ संघ र स्थानीय सरकारले कार्य अघि बढाएपनि तिव्रता दिन सकेको छैन् ।’
यसमध्ये केहि विषयहरुमा प्रदेश सरकारले तिव्रताका साथ कार्य कार्य गरिरहेपनि स्वास्थ्य र शिक्षा जस्ता विषयतर्फ संघ र स्थानीय सरकारले नै गम्भिरतापूर्वक कार्य गर्नुपर्ने उनले बताए । ‘स्वास्थ्य र शिक्षातर्फका सवैजसो कार्य संघ र स्थानीय सरकार मातहत नै छन्’ उनले थपे–‘प्रदेश सरकार नाममा मात्रै समेटिएकोले संघ र स्थानीय सरकारले नै यी कार्यमा तिव्रता दिनुपर्ने आवश्कता छ ।’
सप्तरी क्षेत्र नम्बर ३ का सांसद चन्द्रकान्त चौधरीले स्थानीय तहमा जनप्रतिनिधिहरुको बढ्दो गलत प्रवृतिले जनतालाई दुख भोग्नु परिरहेको बताए । ‘जनप्रतिनिधिहरुमा गलत प्रवृतिले विकास भएन, यत्रतत्र गुनासो उस्तै’ उनले भने–‘अहिले सुधार गरेर अघि बढ्ने समय छ, सवै मिलेर आ–आफ्नो ठाउँको विकासमा लाग्नुस् ।’
जिल्ला समन्वय समितिका संयोजक प्रभाकरण यादवको अध्यक्षतामा सुरु भएको दुई दिने आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक प्रगति समिक्षा गोष्ठिमा प्रदेश सभासद्द्वय विदेश्वर यादव (विक्की) र सत्यनारायण मण्डलले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रिय महासचिव जयप्रकाश ठाकुर, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समितीका कार्यक्रम अधिकृत सुभाष मण्डलले सञ्चालन र उप संयोजक थानेश्वर यादवले स्वागत मन्तव्य दिएको गोष्ठीमा सप्तरीका १८ वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको छ ।