• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आरआरएनको निर्माण कार्य गुणस्तरहिन

गुनासो सुन्ने कार्यालय नै गोप्य !
आरआरएनको निर्माण कार्य गुणस्तरहिन

राजविराज, ११ भदौ । संघसंस्था परिचालन कार्यविधि २०६१ अनुसार प्रत्येक गैर सरकारी संस्थाले आफ्नो कार्यालयको होडिङ्ग बोर्ड र स्विकृत परियोजनाको उद्देश्य, बजेट, कार्य क्षेत्र, लाभग्राही समेत खुलाई सेवा वडापत्र खुल्ला र सर्वसाधारणको पहुँचमा राख्नुपर्दछ । तर, नेपाल/वेलायत सरकारको संयुक्त लगानीमा सप्तरीमा सञ्चालित समूदाय विकास कार्यक्रम सञ्चालन गरिरहेका नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) नामक गैर सरकारी संस्थाले गोप्य ढंगले कार्यालय सञ्चालन गरिहेको पाइएको छ ।
संस्थाबाट सञ्चालित कतिपय योजनाहरु विवादीत बन्न थालेपछि कार्यालय नै गोप्य ढंगले सञ्चालन भईरहेको कुरा बाहिरिएको हो । आरआरएनले तिरहुत गाउँपालिका–३ गोइठीमा भवानी राधा आधारभुत विद्यालयको भवन निमार्ण कार्यको प्रक्रिया थाले ।
स्थानीयहरुबीच विवादमै उपभोक्ता समिति गठन भए । र, ०७६ जेष्ठ १९ गते उपभोक्ता समितीसँग सम्झौता भएर निर्माण कार्य थालियो । समूदाय विकास कार्यक्रम तथा संस्था अन्तर्गतको २८ लाख ४६ हजार ६ सय ५ रुपैयाँ ६६ पैसा तथा गाउँपालिकाको ९ लाख ७१ हजार ९ सय ८२ रुपैयाँ गरी कुल ३१ लाख १८ हजार ८ सय १ रुपैयाँ ६६ पैसाको बजेटमा विद्यालयको भवन निर्माण कार्यमा अझै विवाद कायमै छ ।
कार्यक्रम अन्तर्गत सोही गाउँपालिका–१ त्रिकोल स्थित वडा कार्यालयको भवन निर्माणाधिन छ । ०७६ वैशाख २४ गते सम्झौता भएर निर्माण कार्य थालिएको भवनमा गुणस्तरहित सामाग्री प्रयोग भईरहेको भन्दै स्थानीयहरुले विरोध जनाइएका छन् । ‘इट्टा र वालुवा गुणस्तरहिन प्रयोग भईरहेको छ’ सोही ठाउँका मो.हकिमले भने–‘वडा कार्यालयलाई गुनासो गरे, भवन निर्माणको विषयमा कुनै जानकारी नरहेको प्रक्रिया पाएछि अब कसलाई गुनासो गर्नेबारे म अनभिज्ञ छु ।’
वडाध्यक्ष शिवनारायण महतोले पनि भवन निर्माणको विषयमा आफुलाई जानकारी नरहेको स्वीकार्य गरे । के कस्तो निर्माण भईरहेको छ त्यसबारे जानकारी भएन, उनले थपे । यी दुई वटा परियोजना प्रतिनिधिमुलक मात्रै हो । आरआरएनले हाल तिरहुत गाउँपालिकामै जम्मा ८ वटा र विष्णुपुर गाउँपालिकामा एउटा परियोजनामा कार्य गरिरहेको छ ।
तिरहुत गाउँपालिका–१ मै पाँच वटा परियोजनामा कार्य भईरहेको छ । राष्ट्रिय जनकल्याण विद्यालयको भवन निर्माण, पलार स्थित आरसीसी कल्र्भट निर्माण, त्रिकोल स्थित ८ वटा ट्युवेल जडान र लोहजारा स्थित १२ वटा ट्युवेल जडान कार्य भईरहेको छ भने वडा नम्वर २ स्थित मैनाकडेरीमा हम्प पाइप कर्भट निर्माण, वडा नम्वर ५ स्थित मुसहरी टोलमा आरसीसी कल्र्भट तथा विष्णुपुर गाउँपालिका–७ स्थित जनता आधारभुत विद्यालयको भवन निर्माण कार्य भईरहेको छ ।
परियोजना अन्तर्गत समूदाय विकास कार्यक्रम र संस्था तथा गाउँपालिकाको गरी १ करोड ९० लाख ९१ हजार ३ सय ४५ रुपैयाँ ४५ पैसाको कुल बजेटमा कार्य भईरहेको छ भने आरआरएनले झण्डै १० वर्षदेखि सप्तरीमा कार्य गर्दै आएको छ । तर कार्यालयमा भने अझैसम्म होडिङ्ग बोर्ड नै राखेको छैन् । ‘परियोजनास्थलमा संक्षिप्त विवरण झुल्किने गरी होडिङ्ग वोर्ड नपाएपछि उपभोक्तामध्येकै एक व्यक्तिसँग सोध्दा कार्यालयको नाम थाहा पाए’ सोहि ठाउँका मो.अनवरले भने–‘राजविराज आएर ११ देखि २ बजेसम्म कार्यालय खोज्दा पनि भेटिएन ।’
उनले न्युज टुडेसँग कुरा गर्दै भने–‘व्यक्ति विकासमा लागेको आरआरएन नामक संस्था भेट्नु भो भने निर्माणाधिन परियोजनाको अनुगमन गर्न ध्यानाकर्षण गराईदिनुहुन अनुरोध छ ।’ संस्थाका कलष्टर संयोजक दिनेश अर्यालले अर्को स्थानबाट कार्यालय सरेर यहाँ आएकोले हालसम्म होडिङ्ग बोर्ड लगाउन समय नपाएको बताए । गत मे महिनामा मात्रै कार्यालय सरेर नयाँ ठाउँमा आएका हौ, उनले थपे ।