• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मनमोहक बन्दै सप्तरीको लोहजरा दह (भिडियोसहित)

मनमोहक बन्दै सप्तरीको लोहजरा दह (भिडियोसहित)

राजविराज, ११ भदौ । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदैगएको छ ।
कुल ११.९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण सम्वद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको छ ।
पछिल्लो पटक प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम भईरहेको वडा अध्यक्ष रामानन्द चौधरीले जानकारी दिए । उनका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले बताए ।
ठाकुर बाबा दहको नामले समेत परिचित उक्त दहलाई तात्कालिन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालिन राष्ट्रपति रामवरण यादवले गरेका थिए । त्यतिबेलैदेखि पिकनिक स्थल, बोटिङ्ग एवम् सुटिङ्गकालागि चर्चित हुँदै गएको लोहजरा दहमा यतिबेला दिनहुँजसो पर्यटकहरु घुम्न तथा पिकनिक मनाउन आउने गरेको स्थानीयवासिन्दाहरु बताउँछन् । यहाँ खासगरी अंग्रेजी सम्वत्, नयाँ वर्ष तथा खासगरी जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्या अत्यधिक रहने गर्दछ ।
लोहजरा दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरु, मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर यादवको भनाइ छ । उनका अनुसार दहको बढ्दो लोकप्रियताले गर्दा नेपालको विभिन्न जिल्लाका साथै भारतको विभिन्न राज्यहरुबाट पर्यटकहरु आउने गर्दछ । यद्यपी दह क्षेत्रमा अझैं पूर्वाधार तथा सुविधाहरुको अभाव रहेकोले आफु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत थप सहयोगकालागि पहल जारी राखेको बताए ।
लोहजरा दह जस्तो अर्को मनोरम एवम् पर्यटकीय गन्तव्य नरहेको दावी गर्दै यसको व्यवस्थापनकालागि गाउँपालिकाले प्रयास जारी राखेको उनले बताए । अबको केही वर्षभित्रै यो दहलाई देशकै नमूना दहको रुपमा स्थापित गराउने जानकारी दिँदै अध्यक्ष यादवले भने ‘लोहजरा दहमा टाढाटाढाबाट पर्यटक लोभ्याउन महोत्सव समेत आगामी दिनमा विशेष महत्वका साथ आयोजना गर्ने सोचमा छौं ।’