राजविराज, १० भदौ । नेपालमा सामाजिक एवम् ग्रामिण पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदैआएका पत्रकार चन्द्रकिशोर झा हालै अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित भएका छन् ।
फरक धारको पत्रकारिता गर्दैआएका उनी भारतको तामिलनाडुमा आयोजित भव्य समारोहका बीच माजा कोइने सोसल एक्टिभिष्ट अवार्ड २०१९ बाट सम्मानित भएका हुन् । सेन्टर फर एक्स्पेरियन्सि सोसियो कल्चरल इन्टरएक्शन (सीईएससीआई) स्विट्जरल्याण्ड तथा मदुराई भारतले पत्रकार झालाई सामाजिक पत्रकारिताकालागि संयुक्त रुपमा प्रदान गरिएको छ ।
खासगरी तराई–मधेशका गाउँवस्तीहरुमा पुगेर दबिएका, थिचिएका तथा जनआकाङ्क्षालाई अग्रभागमा राखेर पत्रकार झा करिब तीन दशकदेखि मोफसलदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदैआएका छन् । यस अतिरिक सामाजिक एवम् जनसरोकारको विषयमा चिन्तनशील भई विभिन्न जनजागरण तथा वहसहरुमा आफुलाई उभ्याउँदैआएका छन् ।
महात्मा गाँधीको जीवनशैलीलाई आत्मसात गर्दै सादगीपूर्ण जीवनयात्रालाई जनहितमा समर्पित गदैआएका छन् । सामाजिक पत्रकारितामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै माया कोइने अन्तर्राष्ट्रिय शान्ति पुरस्कार उनलाई सम्मानित गरिएको छ ।
नेपाली पत्रकार झाका साथै थाइल्याण्डका शान्ति अभियन्ता हान्स वान विलेन्सवार्ड र वालापाना भान विलेन्सवार्ड, भारतका सामाजिक अभियन्ता कलाकार विक्रम नायकलाई संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको छ । सेसी स्विजरल्याण्डकी महिला माया कोइने र भारतको एकता परिषदका सामाजिक सुधार अगुवा राजगोपाल पीभीले संयुक्त रुपमा सन १९९६ मा उक्त पुरस्कार स्थापना गरेका हुन् । सेसीलाई उत्तर र दक्षिणबीच सामाजिक सांस्कृतिक आदानप्रदान सहजीकरण गर्ने मञ्च हो ।
