राजविराज, १० भदौ । इतिहासविद प्राध्यापक डा. पिताम्बरलाल यादवले प्राध्यापन पेशाबाट औपचारिक रुपमा सोमबारदेखि अवकास पाएका छन् ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा निरन्तर ३९ वर्षको सेवा पश्चात उनले अवकाश पाएका हुन् । २०३७ सालमा प्राध्यापन पेशामा प्रवेश गरेका उनी २०६८ देखि २०७२ सालसम्म लुम्बिनी बौद्ध विश्व विद्यालयको रजिष्ट्रारको जिम्मेवारी वहन गरेका थिए । तत्पश्चात उनी पुनः प्राध्यापन पेशामै फर्किएका थिए ।
सप्तरीको विष्णुपुर गाउँपालिका स्थित गोरगामा निवासी डा. यादवले नेपालको राजनीतिक इतिहास, बेलायतको संवैधानिक इतिहास, आधुनिक नेपाल, नेपालका राजाहरु, प्रजातान्त्रिक आन्दोलन र सप्तरी, नेपालमा हत्याका घटनाहरुमा सहितका पुस्तकहरु प्रकाशित छन् । उनका पुस्तकहरु नेपालका कलेजहरुमा पाठ्यपुस्तकको रुपमा पठन–पाठन हुँदैआएको छ ।
प्रा. डा. यादवले शिक्षा दिवस पुरस्कार, महेन्द्र विद्या भूषण, अमरसिंह थापा पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार, लुम्बिनी वौद्ध विश्व विद्यालयमा इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्य वापत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भईसकेका छन् । सेवाबाट अवकाश पाएका उनले बाँकी जीवन अध्ययन–अनुसन्धान एवम् इतिहास लेखनमै खर्चिने बताए । सप्तरी जिल्लासँग सम्वन्धित विभिन्न विषयवस्तुमा खोज अनुसन्धान बाँकी रहेकोले त्यसलाई पुरा गर्ने तथा जातीय इतिहास एवम् राष्ट्रिय स्तरका अनुसन्धान एवम् लेखन गरिने प्रा. डा. यादवले ‘न्यूज टुडे’लाई जानकारी दिए ।