राजविराज, १० भदौ । मुआब्जा सहित विभिन्न माग राखेर आन्दोलनरत कोसी पीडित किसानहरुको आन्दोलनप्रति प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ऐक्यवद्धता जनाएका छन् ।
विगत ११ दिनदेखि कोशी ब्यारेजमा रिले अनसनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका किसाहरुको आन्दोलनमा उनले मङ्गलवार ऐक्यवद्धता जनाएका हुन् । अनसन स्थलमै पुगेर मन्त्री साहले पीडित किसानको समस्या प्रति ऐक्यवद्धता जनाएका छन् ।
कोसी सम्झौता अनुसार नदि कडान र डुबानमा परेको जग्गाको मुआब्जा र क्षतीपुर्तिका लागि आफुले पहले गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कोसी कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सप्तकोसी नदीको पुर्वी कन्ट्रोल रुमअगाडि किसानहरुले रिले अनसनलाई निरन्तरता दिँदैआएका छन् ।
कोसी सम्झौता अनुसार कोसी कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले दिनुपर्ने ब्यवस्था छ । २०११ बैसाख १२ गते (२५ अप्रिल १९५४) पुल र बाँध निर्माणका लागि नेपाल–भारतबीच १ सय ९९ वर्षे सम्झौता भएको थियो ।
योजना सञ्चालन भएका कारण कटान र डुबानमा परेको जमिनको मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले उपलब्ध गराउने उल्लेख भए पनि नेपाल सरकारले नै बेवास्ता गरेको संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीको आरोप छ । आफुहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन तथा माग सम्वोधन गर्न पहल गरिदिन उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।