राजविराज, ८ भदौ । मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले इतिहासविद् हरिकान्तलाल दास राष्ट्रिय व्यक्तित्व भएको भन्दै योगदानलाई जिवन्त राख्न सरकारी स्तरबाट ठोस पहल हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
मैथिल महिला परिषद् राजविराजले शनिवार राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा शनिवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा. दत्तले मैथिली भाषा, साहित्य, पुरातात्विक एवम् मिथिलाको प्राचीन इतिहास, गढ, सिम्रौनगढ, सेनवंशी, कर्णाटवंशी लगायतका कालखण्डको विषयमा मिहिन ढङ्गले कलम चलाएको भन्दै इतिहासविद् दासको निधनले मिथिला मधेश मात्र नभई सिङ्गो राष्ट्रले कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको बताए । उनले भने ‘इतिहासविद् दासको योगदानलाई चीरकालसम्म जिवन्त राख्न सरकारी स्तरबाट समेत ठोस पहल हुनु जरुरी छ ।’
स्व. दासका लिखित कृतिहरुको संरक्षण तथा पाण्डुलिपीहरुको प्रकाशन एवम् संग्रहित पुस्तकहरुको संंरक्षण हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय व्यक्तित्व भएको भन्दै योगदानलाई जिवन्त राख्न सरकारी स्तरबाट ठोस पहल हुनुपर्नेमा जोड दिँदै भने ‘स्व. दासको नामबाट ट्रष्ट बनाएर अगाडि बढ्नु आवश्ष्यक छ, यस कार्यमा परिवारजनका साथै सबै पक्षको सहयोगको खाँचो छ ।’ 
नेकपाका नेता एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले मधेशले मात्र नभई देशले नै एक कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको भन्दै श्रष्टाको योगदानको समुचित कदर हुनुपर्नेमा जोड दिए । गहन अध्ययन–अनुसन्धानमा विशेष दखल भएका व्यक्तित्व युगौंयुगसम्म जिवन्त रहने बताउँदै प्राध्यापक झाले भने ‘इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्व सिङ्गो देशकैलागि अनुकरणीय छ, अझ हस्तलिखित कतिपय शोध एवम् अनुसन्धानमूलक कृतिका पाण्डुलिपी समेत रहेकोले त्यसको संरक्षण आवश्यक छ ।’
इतिहासविद् प्राध्यापक डा. पिताम्बरलाल यादवले स्व. दास आफ्नो गुरु मात्र नभई सहकर्मी भई लामो समयसम्म काम गरेको चर्चा गर्दै कृतिहरुको संरक्षण हुनुपर्नेमा जोड दिए । उनको व्यक्तित्वबाट आफु समेत प्रभावित रहेको भन्दै डा. यादवले भने ‘इतिहासविद् दासद्वारा लिखित पुस्तक एवम् अनुसन्धानहरु अतुलनीय छन्, नाश्वर शरिर नष्ट भए पनि वहाँ जिवन्त हुनुहुन्छ र रहनुहुन्छ ।’
परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले सप्तरी जिल्लावासीको वौद्धिक गहनाको रुपमा रहेको इतिहासविद् दासको रिक्तता यो जिल्लाले महशुष गरिरहने बताए । कान्तिपुर राष्ट्रिय दैनिकका काम गरिरहँदा स्व. दासबाट अनुसन्धानको विषयहरु सिक्ने अवसर पाएको उनले स्मरण गरे । परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले इतिहास विषयमा अध्ययन अनुसन्धान गर्नेहरुकालागि प्रेरणाको श्रोत रहेको बताए । उनको व्यक्तित्व एवम् कृतित्वबाट आफु अति प्रभावित भएको बताए ।
श्रद्धाञ्जलीसभामा इतिहासविद् दासका भाइ प्राध्यापक जुगेश्वरलाल दास, राजविराज नगरपालिका उपप्रमुख साधना झा, मैथिली साहित्य परिषदका पूर्व अध्यक्षहरु विवेकानन्द मिश्र, परिषद्का उपाध्यक्ष सतिश दत्त, सचिव एवं नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पूर्व शिक्षिका
मञ्जु श्रेष्ठ, मिलाफका अध्यक्ष श्रीराम मण्डल, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले इतिहासविद्ध दासको विविध पक्षबारे चर्चा गरे ।
मधेशी आयोगका अध्यक्ष विजय कुमार दत्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मैथिल महिला परिषद सप्तरीको नवनिर्वाचित अध्यक्ष शान्ति झासहितका पदाधिकारीहरुलाई पूर्व अध्यक्ष समेत रहेकी उपमेयर साधना झाले पद तथा गोपनियताको सपथ–ग्रहण गराएकी छिन् । कार्यक्रम सञ्चालन परिषद्की सचिव पिंकी कुमारी झाले गरिन् ।
