राजविराज, ६ भदौ । इतिहासविद् हरिकान्तलाल दासको निधनले मिथिला मधेश मात्र नभई देशले नै एक कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मैथिली साहित्य परिषद्द्वारा मैथिली भवनमा शुक्रवार आयोजित परिषद्का पूर्व अध्यक्ष एवम् इतिहासविद् स्व. हरिकान्त लाल दासको १२औं दिनको पुण्यतिथिका अवसरमा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै परिषद्का पूर्व अध्यक्ष प्राध्यापक अमरकान्त झाले ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रका कुशल अनुसन्धानकर्ताको रुपमा देशमै चिनिएका दासको निधनले मिथिला मधेशमा अपुरणीय क्षति भएको बताए । गहन अध्ययन–अनुसन्धानमा विशेष दखल भएका उनले गरेका कार्य युगौयुगसम्म जिवन्त रहने बताउँदै प्राध्यापक झाले भने ‘इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्व सिङ्गो देशकैलागि अनुकरणीय छ, अझ हस्तलिखित कतिपय शोध एवम् अनुसन्धानमूलक कृतिका पाण्डुलिपी समेत रहेकोले त्यसको संरक्षण आवश्यक छ ।’
इतिहासविद् प्राध्यापक डा. पिताम्बरलाल यादवले स्व. दास आफ्नो गुरु मात्र नभई सहकर्मी भई लामो समयसम्म काम गरेको चर्चा गर्दै कृतिहरुको संरक्षण हुनुपर्नेमा जोड दिए । उनको व्यक्तित्वबाट आफु समेत प्रभावित रहेको भन्दै डा. यादवले भने ‘इतिहासविद् दासद्वारा लिखित पुस्तक एवम् अनुसन्धानहरु अतुलनीय छन्, नाश्वर शरिर नष्ट भए पनि वहाँ जिवन्त हुनुहुन्छ र रहनुहुन्छ ।’
परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले सप्तरी जिल्लावासीको वौद्धिक गहनाको रुपमा रहेको इतिहासविद् दासको रिक्तता यो जिल्लाले महशुष गरिरहने बताए । कान्तिपुर राष्ट्रिय दैनिकका काम गरिरहँदा स्व. दासबाट अनुसन्धानको विषयहरु सिक्ने अवसर पाएको उनले स्मरण गरे ।
परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले स्व. दास देशकै इतिहास विषयमा अध्ययन अनुसन्धान गर्नेहरुकालागि प्रेरणाको श्रोत रहेको बताए । उनको व्यक्तित्व एवम् कृतित्वबाट आफु अति प्रभावित भएको बताउँदै लेखक मिश्रले भने ‘दिनाभद्रीको विषयमा अनुसन्धान गर्ने क्रममा मैले धेरै विषय एवम् सामग्रीहरु वहाँबाट मार्गदर्शनको रुपमा पाएको छु, वहाँसँग रहेका पुस्तक, पाण्डुलिपी तथा दस्तावेजहरुको संरक्षणमा सरकारी तवरबाट विशेष पहल हुनु आवश्यक छ ।’
परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पंडित महेश्वर झा, परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, प्रा.डा. रामखेलावन यादव, प्रा. जयनारायण यादव, ई. प्रयाग यादव, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, परिषद्का पूर्व सचिव नथुनी दास, भोला झा, परिषद्का सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह, सदस्य हितनारायण लाल दास, मिथिलेस यादव लगायतका वक्ताले इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरे ।
