कमल कुमार मण्डल
राजविराज, ६ भदौ । देशमा विभिन्न राजनीतिक परिवर्तनहरु भए पनि विभिन्न ग्रामिण समुदायका सामुदायिक विद्यालयहरुमा विभिन्न समस्याहरु उस्तै देखिएको छ ।
जसको पछिल्लो नमूना बनेको छ सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी । त्यहाँ अहिले पनि कक्षा कोठामा पढाई भइरहेको बेलामै केही विद्यार्थीहरु पोखरीको डिलमै समय बिताईरहेका हुन्छन् । कतिपयले मोवाइलमा गेम खेलिरहेका हुन्छन् भने कतिपय भिडियो गीतहरु देखेर समय बिताउँछन् ।
विद्यालय प्रशासनको लापर्वाहीका कारण कतिपय विद्यार्थीहरु हाजिरी बनाएर दोश्रो–तेश्रो घन्टीमै पढाई छाडेर घरतिर लाग्छन् । यहि विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु डाक्टर, इन्जिनियर लगायत विभिन्न निकायमा कार्यरत छन् । यहाँका भावी पिढीहरु भने बिग्रिने अवस्थामा पुगिसकेको स्थानीयवासिन्दाहरु बताउँछन् ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँका यूवा सुशील कुमार मण्डल भन्छन् ‘विद्यालयको बाटो भएर आवत–जावत गर्दा दुई–चार जना विद्यार्थीहरु पोखरीको डिलमा घुम्दै गरेको, मोबाइल चलाउँदै गरेको अवस्थामा भेटिन्छन् ।’ विद्यार्थीहरुले अटेर गर्दा अभिभावकसँग समन्वय तथा विभिन्न प्रकृया अपनाई बाध्य भएर पढनैपर्ने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । कतिपय विद्यार्थीहरु पढाईमा कमजोर रहेकोले पनि कक्षामा पढाई छाड्ने गरेको सकरपुराका यूवा राजकिशोर मुखियाले दावी गरे । उनले भने ‘अहिले मोबाइलकै कारण अधिकांश विद्यार्थीहरु पढाई छाडने तथा बर्वाद हुदै गएको छ ।’
विद्यालयका प्रधानाध्यापक प्रभाष कुमार झाले भने केही नपढ्ने विद्यार्थीहरु घण्टी समयमै घुमफिर गर्ने गरेको पाईएकोले सुधार गर्न आफुहरु प्रयासरत रहेको बताए । उनले भने–‘हामीले विभिन्न तरिकाहरु अपनाए पनि केही विद्यार्थीहरु त्यस्तै भइसकेको तर समस्या न्युन भएको हो ।’ यस विषयमा अभिभावकले पनि आफ्ना विद्यार्थीप्रति पनि हाम्रो विद्यार्थी के पढे, के सिके भन्ने जाँच गर्नु आवश्यक रहेको प्रअ झाले बताए ।