अशोक शर्मा
सखडा, ०५ भदौं । नेपालको प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता शक्तिपीठ प्राङ्गणमा निर्माण गरिएका धर्मशालाहरु अन्य काममै प्रयोग भइरहेको पाईएको छ ।
विजयादशमी आउन करिब १ महिना मात्र बाँकी रहेकाले धर्मशालाका कोठाहरु अरुले नै प्रयोग गर्न थालेपछि दर्शनार्थीहरुकालागि वासस्थानको अभाव भएको हो । मन्दिरदेखि पूर्वपट्टी रहेको दुई तले धर्मशालाको तलतिर एउटा कोठामा हुलाक, अर्कोमा मन्दिर समितिको कार्यालय, पीठाधीशको कार्यालय, बलि प्रदानको रसिद काट्ने कार्यालय, दिनहुँ माताको भोग लगाउते सरसामान राख्ने, पुजारीको कार्यालय रहेको समितिले जनाएको छ ।
यस्तै पश्चिमपट्टी रहेको दुई कोठे धर्मशाला मध्येको एक कोठामा स्वीपर बस्ने ठाउँ, अर्को कोठामा मन्दिरको सरसामान राखिएको छ । यस्तै पश्चिमपट्टी बाहिर सांसद रेणु यादवले बनाएको धर्मशालामा एउटा कोठामा नेपाल दूरसञ्चारको कार्यालय, अरु सबैमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ को कार्यालयले प्रयोजनमै प्रयोग गरेको शक्तिपीठका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधीश महाकान्त ठाकुरले बताए ।
एक मात्र मन्दिरदेखि पूर्वपट्टि रहेको नेगरु बरैको नाउँमा रहेको धर्मशाला विवाह, पार्टी, भोजभतेर र दर्शनार्थीहरुकालागि बास स्थानको प्रयोजनको लागि खाली राखिएको छ । त्यसमा पनि कुनै कोठामा बेड छन् भने कुनै कोठामा डसना छैन भन्ने गुनासो यात्रीहरुको रहेको छ ।
शक्तिपीठको पश्चिम कुनामा रहेको शौचालयको अवस्था पनि लथालिङ्ग रहेको छ । चार कोठे उक्त शौचालयमध्ये दुई वटा जाम भएर प्रयोग बिहिन अवस्थामा रहेको (एउटामा प्यान समेत फुटेको) र बाँकी एउटा मात्र हाल फुल पसले र भभक्तजनकोलागि प्रयोग भइरहेको स्थानीय कुशेश्वर मण्डलले जानकारी दिए । मन्दिरको दक्षिण स्कूल पछाडि रहेको चार कोठे शौचालयको अवस्था पनि जाम भएर ढोका नरहेको प्यान समेत फुटेर प्रयोग बिहिन अवस्थामा रहेको एक पूजारीले जानकारी दिएका छन् ।