• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा जबरजस्ती करणी मुद्दामा व्यापक वृद्धि

सप्तरीमा जबरजस्ती करणी मुद्दामा व्यापक वृद्धि

राजविराज, २ भदौ । एक वर्षयता मात्र सप्तरी जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग सम्वन्धी मुद्दामा व्यापक वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार २०७५ साउनदेखि ०७६ असारसम्म जबरजस्ती करणी मुद्दा ४९ जना र जबरजस्ती करणी उद्योग मुद्दा १५ रहेको छ । जबरजस्ती करणीका ४९ मुद्दामा ३१ जना पक्राउ गरेका छन् भने २५ जना आरोपी फरार छन् । जबरजस्ती करणी उद्योग मुद्दामा कुल १५ मुद्दामा ८ जना मात्र पक्राउ परेका छन् भने १० जना अझैं फरार रहेका छन् ।
यस्तै ज्यान मार्ने उद्योगका २९ ओटा जिल्ला प्रहरी कार्यालय सप्तरीमा १६ जना पक्राउ परेका छन् भने ६३ जना फरार छन् । कर्तव्य ज्यान सम्वन्धी घटना १२ ओटा भएकोमा त्यसमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन् । उक्त घटनाका २४ अभियुक्त फरार छन् ।
अपहरण सम्वन्धी ९ ओटा मुद्दा दर्ता भएकोमा ६ संलग्न रहेको आरोपमा पक्राउ परेका छन् भने ७ जना अझैं फरार रहेको तथ्याङ्कले जनाएको छ । यस्तै हातहतियार खरखजाना मुद्दाको संख्या २ रहेको छ । तीमध्ये २ जना पक्राउ परेका छन् भने एक जना फरार रहेको जनाईएको छ ।
यस्तै लागु औषध मुद्दा ६० ओटा दर्ता भएकोमा ८१ जना पक्राउ परेको तथा २ जना मात्र फरार रहेका छन् । जिल्लामा चोरी मुद्दा ७० ओटा रहेकोमा ७८ जना पक्राउ परेका छन् भने ४ जना फरार छन् । बोक्सीको आरोप ७, अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दा २, गर्भपतन १, हातहतियार खरखजाना २ रहेको छ । उक्त मुद्दाहरुका केही आरोपीहरु समेत अझैं फरार छन् ।
जिल्ला भईरहेका अपराधिक घटनाहरु न्यूनिकरण गर्न आफुहरु प्रतिवद्ध रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । दर्ता भएका विभिन्न मुद्दाहरु समेत कार्वाही प्रक्रियामा रहेको तथा फरार अभियुक्तहरुको खोजी कार्य समेत तिब्र पार्नुका साथै शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराखिने उनले प्रतिवद्धता व्यक्त गरे ।