• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने

जनकपुरधाम, ३१ साउन । प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्षभित्र प्रदेश नम्वर २ का ४२ हजार युवाले रोजगारी पाउने बाटो खुलेको छ ।
प्रदेश सरकार , डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले शुक्रवार एक कार्यक्रम बिच उक्त सम्झौता गरेका हुन । प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजना अनुरुप पहिलो चरणमा विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने अथवा स्वरोजगार बनाउने सम्झौता गरेका छन् ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत , सीप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिव, दलित, महिलालाई लक्षित गरि सञ्चालन गरिने मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।
एक वर्षको प्रयास पश्चात रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडि बढेको उल्लेख गर्दै उक्त कार्यमा सघाउने डिफिड लगायत साझेदार संस्थाहरुलाई धन्यवाद समेत दिए । सम्झौता अनुसार प्रभु बैंकले आगामी तीन वर्षभित्र बैदेशिक रोजगारमा जाने सात हजा पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये चार हजारलाई सीप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
यसैगरी नेपाल एसबीआई बैंकले आगामी तीन वर्षभित्र बैदेशिक रोजगारमा जाने सात हजार सात सय पचास युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सीप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइने छ ।
यस्तै मेरो जब्सले रोजगारी कार्यक्रम अन्तर्गत रोजगार पसल मार्फत आगामी तीन वर्षमा ७ हजार युवाहरुलाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ । यसैगरि एमाजोनको सहकार्यमा जेनिसले ४ हजार युवालाई सीप सहित रोजगारी दिने तथा फ्युज मेसिनले आइसिटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता गरेका छन् ।
यता मोरङ्ग अटो वक्र्स प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरमा हेभी गाडीको ड्राइभिङ्ग तथा मेकानिकल ट्रेनिङ्ग सेन्टरको स्थापना गरि तीन वर्ष भित्र ४ हजार युवाहरुलाई रोजगारी दिने सम्झौता गरेको छ । रोजगारदाता संस्थाहरुलाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदाताहरुलाई आवश्यक ऐन कानून लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश राय, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उप–महानगर प्रमुख लालकिशोर साह, डिफिडका नेपाल प्रमुख लिसा हेनान सहितका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।