• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेरहौताको बर्थिङ्ग सेन्टर एक वर्ष नपुग्दै बन्द हुने अवस्थामा

तेरहौताको बर्थिङ्ग सेन्टर एक वर्ष नपुग्दै बन्द हुने अवस्थामा

वृजमान तामाङ
विरेन्द्र बजार, २८ साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ स्थित स्वास्थ्य चौकी तेरहौतामा सञ्चालित वर्थिङ सेन्टर बन्द हुने अवस्थामा पुगेको छ ।
गत वर्ष विशेष तामझामका साथ गाउँपालिका अध्यक्ष हरेराम यादवले उद्घाटन गरी सञ्चालनमा आएको वर्थिङ सेन्टर एकवर्षभित्रै बन्द हुने अवस्थामा पुगेको हो । पूर्वधार, असुरक्षा, दक्ष कर्मचारी र आवश्यक श्रोत साधनको अभावले वर्थिङ्ग सेन्टर सञ्चालन कठिनाई भएको स्वास्थ्य चौकी प्रमुख नरेश कुमार शेठले बताए ।
सुचिकृत प्रमाण—पत्र, एसविए तालिम प्राप्त स्वास्थ्यकर्मी जस्ता आधारभुत मापदण्ड समेत उपलब्ध छैन शेठले भने, ‘कुनै अप्रिय घटना भएमा कसले जिम्मेवारी लिन्छ ?’ वर्थिङ्ग सेन्टरका लागि ३ जना स्वास्थ्यकर्मी आवश्यक पर्ने बताउँदै हाल एक जना स्थाई र एक जना करार गरी दुई जना र स्वास्थ्य संस्थाका कर्मचारीहरुको सहयोगले जसोतसो सेवा दिदै आएको उनले जाकारी दिए ।
वर्थिङ्ग सेन्टर सञ्चालनमा कठिन भएको कुरा गाउँपालिकामा जानकारी गराईसकेको बताउँदै प्रमुख शेठले समस्या सामाधान हुने साथ पुनः सञ्चालनमा ल्याउने बताए । वर्थिङ सेन्टरकालागि पर्याप्त मात्रमा अवश्यक साधन नहुदा सेवा प्रभावित हुने गरेको र सुत्केर गराउन जोखिम मोल्नु परेको अनमि अस्मिता सरदारले बताईन् ।
गत आर्थिक वर्ष ३४ जनालाई सफलतापुर्वक सुत्केरी गराएको जानकारी गराउँदै उनले सेवाग्रहीहरुको चाप दिनप्रतिदिन बढ्दै गरेको बताईन् । उनले राती बस्न सुरक्षा चुनौती रहेकोले चालु आ.व.मा दैनिक सेवा मात्र दिने गरेको जानकारी दिईन् । उनले चालु आवको साउन महिनामा समेत ३ जनाको सुत्केरी गराएको बताईन । वर्थिङ सेन्टर सञ्चालनमा आएपछि दैनिक मासिक १७ जना भन्दा वढी गर्भवती महिला स्वस्थ्य जाँच गाउन नाम दर्ता गर्ने गरेको र स्वास्थ्य चौकीमा अतिरिक्त स्वास्थ्य सेवा लिनेको सङ्ख्यामा समेत वृद्धि भएको खोप फोकल पर्सन अनमि सुनिता नेपालीले जानकारी दिईन् ।
यस सम्वन्धमा रुपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले सेवा बन्द गरेको भन्ने औपचारिक जानकारी नभएको बताए । उनले वर्थिङ सेन्टर सञ्चालनमा शाखाले सहयोगमा कुनै कमी नराखेको प्रतिक्रिया दिए । समस्याको सम्वन्धमा कसैले जानकारी नगराएको बताउँदै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले अविलम्व सम्वन्धित व्यक्तिहरुसँग छलफल गरी सेवा सुचारु गरिने जानकारी दिए । वर्थिङ सेन्टर सञ्चालनमा आएपछि सो क्षेत्रका वासिन्दाहरु लाभान्वित भएका थिए ।