राजविराज, २६ साउन । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध देशव्यापी रुपमा अन्दोलनरत समुहले सप्तरीमा समेत आरक्षण बचाऔं आन्दोलन परिचालन समिति गठन गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघ राजविराजमा आइतवार आयोजित भेलाले विकास कुमार तिवारीको नेतृत्वमा पाँच सदस्य जिल्ला स्तरीय आन्दोलन परिचालन समिती गठन गरेको हो । समितिमा आदिवासी जनजाति महासंघ सप्तरीको तर्फबाट भिम वहादुर घिसीङ, विद्यार्थीबाट श्यामकुमार यादव, दलितबाट कपलेश्वर सदा र राजनारायण यादव सदस्य चयन भएका छन ।
आरक्षण बचाऔं परिचालन समितिका नेता रामरिझन यादवको अध्यक्षतामा आयोजित भेलामा राजनीतिक विष्लेशक तुलानारायण साह, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, महिला नेतृ करुणा झा, समाजसेवी ईन्जिनियर सुर्यनारायण यादव, विद्यार्थी नेताहरु शम्भु यादव, सञ्जय यादव, पत्रकारहरु लगायतका सामाजिक अगुवाहरुको उपस्थिति थियो । समितिलाई सरोकारवालाहरुको सर्वपक्षिय सहभागिता गराई विस्तार गरिने समितिका सदस्य घिसीङले जानकारी दिए ।
प्रचलित ऐन, नियम कानूनको परिधिभित्र रही समानुपातिक समावेशीको आधारमा लोकसेवा आयोग लगायतका आयोगहरुले विज्ञापन प्रकाशन गर्नुपर्ने एवम् लोकसेवा लगायतको सेवा आयोगहरुको विषयमा गाउँगाउँमा जागरण ल्याउने खालको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरामा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले जोड दिनुभयो ।
‘सामाजिक न्याय र समानताका लागि आरक्षण बचाऔं आन्दोलन’ भन्दै दोश्रो चरणको आन्दोलन अन्तर्गत साउन १७ देखि ३२ गतेसम्म १५ दिने आन्दोलन घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत २६ देखि २९ गतेसम्म मुख्यमन्त्री, सिंहदरबार र प्रधानमन्त्री कार्यालय घेराउ र ३२ गते देशव्यापी लाठी जुलुस सहित मार्चपास गर्ने रहेको जनाएको छ । लोकसेवा आयोगको असंवैधानिक विज्ञापनलाई नसच्याए तेश्रोपटक सशक्त र निर्णायक आन्दोलन गर्ने आन्दोलनकारीहरुले चेतावनी दिदै आएको छ ।