• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको सरकारी अस्पतालमा जटिल अप्रेशन पनि सम्भव

राजविराजको सरकारी अस्पतालमा जटिल अप्रेशन पनि सम्भव

श्यामसुन्दर यादव
राजविराज, २४ साउन । केही महिना अघिसम्म रेफरल सेन्टरको उपमा पाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जटिल प्रकृतिका उपचार समेत सम्भव भएको छ ।
जटिल प्रकृतिका विरामीहरुलाई धरान, बिराटनगर लगायत अन्यत्र रेफर गरिने कार्यलाई विराम लगाउँदै अस्पतालमै उपचार सेवा दिन थालिएको हो । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर–४ का ८ वर्षिय बालक तबरेज आलमको जटिल उपचार गरेर अस्पतालको सेवा प्रभावकारी भएको यथार्थलाई थप पुष्टि गरेको छ ।
आफ्ना साथीसँग तबरेज विहीबार करिब ३.३० बजेको समयमा कदमको फल टिप्न तबरेज छतमा चढेका थिए । सोही क्रममा खुट्टा चिप्लिएर छतबाट लडेका थिए । जमिनमा रहेको बाँसको भाटा ती बालकको पेटमै घोच्चिएर आन्द्राभुँडी हुँदै बाहिर निस्केको थियो । रक्ताम्य अवस्थामा बालक तत्कालै बेहोस भएका थिए । उनका बुवा इसराइल मियाँ विदेशमा रहेका कारण आफन्तजनको सहयोगमा राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरियो ।
बालकको आन्द्राभुँडी भएर भाटा निस्किएको तथा अत्यधिक रक्तश्राव र बेहोसी अवस्था देख्दा परिवारजनको आश समेत कमजोर हुँदैगएको थियो । यद्यपी अस्पतालमा हाल आएको चिकित्सकहरुको समूह तत्काल सक्रिय भएर उपचारमा संलग्न भए । बालकका परिवारजनको स्वीकृति पश्चात केही मिनेटमै सर्जन डा. राजिव मिश्रा, डा. महेश पोखरेल, एनेस्थेसिस्ट पारसमणी, सहायक एनेस्थेसिस्ट विपिन देव, स्टाफ नर्स अर्चना शर्मा सहितको टोलीले उपचार शुरु गरेको थियो । बेलुकी ४.३० बजेबाट अप्रेशन थालेको उक्त बालकको उपचार ९.३० बजे पाँच घण्टा लगाएर सम्भव भएको छ । अप्रेशन कक्षमा छिरेका स्वास्थ्यकर्मीहरुको टोली बाहिर निस्किन ढिलो भएपछि परिवारजन झन चिन्तित बनेका थिए । तर जब स्वास्थ्यकर्मीहरुको टोली मुस्कुराउँदै ‘चिन्ता लिनुपर्ने अवस्था छैन, बाबुलाई ठिक छ’ शब्द सुनेपछि बालककी आमा सबनमको हर्षको सिमा नै रहेन ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. चुमनलाल दासले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको टोलीले पाएको सफलताकालागि खुशी हुँदै गए । उनका अनुसार बालक तबरेजको आन्द्रा हुँदै बाँसको भाटा निस्किएकोले आन्द्रा काटिएको थियो । ‘आन्द्राको केही भाग काट्नु परेको छ’ मेसु डा. दासले भने ‘बालकको अवस्था अहिले सकुशल छ, यो अस्पताल परिवारको ठूलो सफलता हो ।’ यस्तो जटिल उपचार सेवा वापत करिब सात हजार रुपैयाँमै सम्भव भएको उनले जानकारी दिए ।
यस्तै अर्को ठूलो सफलता गत जेठ ३ गते अस्पतालले पाएको हो । राजविराज नगरपालिका वडा नम्वर–७ कि २५ वर्षिया पिंकी राउतलाई अति सम्वेदनशील अस्पताल भर्ना गरियो । यस अघि तीन पटक अप्रेशन गरेर बच्चालाई जन्म दिएकी उनलाई चौथौ पटक समेत गर्भवती भई बेहोसी अवस्थामा भर्ना गराईयो । पाठेघर र पिसाब थैली फुटेको अवस्था तथा अत्यधिक रक्तश्राव भई जीवन–मरणको दोसाँधमा रहेकी उनको अवस्था हेरेर चिकित्सकहरु चिन्तित भए ।
अन्यत्र रेफर गरिए भारदह समेत कट्न नसक्ने अवस्था थियो । तर चुनौतीलाई स्वीकार गर्दै गाइनोकोलोजिष्ट ब्रजेश कुमार झा, दिलिप कुमार साह, सर्जन सरोज कुमार यादव, एनेष्थेसिष्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मा समेतको टोलीले उपचार शुरु ग¥यो । अत्यधिक रक्तश्राव भएका कारण अवस्था अति चुनौतीपूर्ण रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले जानकारी दिए ।
‘रगत संकलन गरी अप्रेशन गरेर बच्चा झिक्न सफल भयौं, आमाको स्वास्थ्य अवस्था अति जोखिममा रहेकोले तत्काल रगत नपाएको अवस्थामा स्टाफ नर्स अर्चना शर्मा आफ्नै रगत दिएर भए पनि बच्चा र आमाको ज्यान जोगाउन सफल भयौं’ डा. दासले भने ‘अहिले पनि आमा र बच्चा सकुशल छन्, हामीलाई गर्व छ हाम्रो टिमप्रति, समयमै अस्पताल पुर्याईए अब हामी जटिल अवस्थामा पनि ज्यान जोगाउन सक्षम छौं ।’
कुनै बेला विभिन्न नाममा फैलाईएका भ्रमहरु त्यागेर सुविधासम्पन्न अस्पतालको रुपमा विकसित हुँदै गएको उनले बताए । आफुहरुको अथक प्रयासले अस्पतालमा आमूल परिवर्तन देखिन थालेको जानकारी उनले भने ‘कति परिवर्तन भएको छ, त्यो कुरा भनेर साध्य छैन, अस्पतालमा आएपछि फरक अनुभूति पाउनुहुन्छ, निन्याउरो अनुहार लिएर आएकाहरुलाई हाम्रो टिमले खुशी पारेर पठाउन प्रतिवद्ध छौं ।’ वर्तमान उप–प्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवका साथै सिङ्गो स्वास्थ्य मन्त्रालयको सहयोगले यो अस्पताल नमूना अस्पतालको रुपमा स्थापित हुन थालेको डा. दासले बताए ।
यस्तो छ अस्पतालको सेवा सुविधा
स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभावमा रेफरल सेन्टरको उपमा पाएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सेवा प्रभावकारी हुन थालेको छ । देशमै कुशल चिकित्सक एवम् उच्च प्रशासनिक क्षमतावान डा. चुमनलाल दास मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा अस्पतालको बागडोर सम्हालेपछि सेवा सुविधामा व्यापक परिवर्तन आएको हो । उनी आउनु अघि चिकित्सक तथा सुविधा अभाव रहेको अवस्थामा रहेको अस्पतालमा ३ जना मात्र चिकित्सक थियो । हाल अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या थपिदै ३२ जना पुगेको छ । हाल अस्पतालमा मेडिसिन, सर्जरी, गाइने, पेडियाट्रिक, ओर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियु, २४ घण्टे नमूना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा सञ्चालनमा आएको छ ।
अहेवको भरमा स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीहरुको सहयोगमा सञ्चालन हुँदैआएको इमरजेन्सी सेवामा गत भदौदेखि चिकित्सक २४ औं घण्टा अन ड्युटीमा बस्न थालेका छन् । कुल ५ जना चिकित्सकमध्ये ४ जना राजविराज नगरपालिकाको सहयोगमा तथा एक जना स्थायी दरबन्दीका चिकित्सकबाट सञ्चालन भईरहेको छ ।
यतिमात्र होइन, अस्पतालमा सरसफाई, खानेपानी, सुरक्षा लगायतका विषयलाई समेत गम्भिरतापूर्वक लिँदै सेवालाई प्रभावकारी बनाईएको छ । भारत सरकारको सहयोगमा २०१८ सालमा स्थापना भएको ५० शैय्याको यो अस्पतालमा हाल ८३ शैय्या सञ्चालन भईरहेको छ भने तीन सय शैय्याकालागि पूर्वाधार तयारी भईरहेको डा. दासले जानकारी दिए ।
अति न्यून शुल्कमा उपचार
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पछिल्लो व्यापक सुधारहरु भएसँगै सेवा वापतको शुल्क समेत एकदमै न्यून राखिएको छ । सर्वसाधारणको स्वास्थ्यमा सर्वसुलभ रुपमा पहुँच बढाउने उद्देश्यका साथ विभिन्न सेवाहरुको शुल्क एकदमै न्यून गरिएको छ नै ।
यस अतिरिक्त अति गरिव एवम् विपन्न तथा वेवारिसे लगायतकालागि अस्पतालमै सामाजिक सेवा इकाई समेत सञ्चालन गरिएको छ । उनीहरुको उपचारमा लाग्ने खर्च इकाई मार्फत व्योहोर्ने गरिएको छ । ‘अस्पतालमा भर्ना भएका जस्तोसुकै विरामीको पहिला उपचार गरिन्छ’ मेसु दासले भने ‘पैसाकै कारणले कुनै पनि विरामीको उपचार रोकिदैन, हरतरहले हामी सेवा भावले तत्पर छौं ।’